२६, जेष्ठ २०८२
बाँके । लुम्बिनी प्रदेशमा पछिल्ला १० वर्षमा मनसुनजन्य विपदका १६१८ वटा घटना घटेका छन्, जसमा ४५९ जनाले ज्यान गुमाएका छन्। ६१९ जना घाइते भएका छन् भने ३२ जना अझै बेपत्ता छन्। विपदका कारण ८ हजार ३१५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। हरेक वर्षजसो मनसुनसँगै विपदको मात्रा र क्षति बढ्दै गएको तथ्यांकले देखाउँछ।
नागरिकको जीवन, संरचना र साधन-स्रोतमा गम्भीर असर पार्ने यस्ता विपदका कारण प्रदेश सरकार सचेत बन्न थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको “मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०८२” अनुसार लुम्बिनी प्रदेश यस वर्ष सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएको छ।
उक्त कार्ययोजनामा १ लाख १९ हजार ८३० घरधुरीका करिब ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुन सक्ने उल्लेख छ। यही अनुमानलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा सतर्कता अपनाउने काम तीव्र बनाइएको छ।
प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपदको पूर्व तयारी र प्रतिकार्य कार्यलाई तिव्रता दिन निर्देशन दिनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार विपदपूर्व तयारी अन्तर्गत प्रभावकारी सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, नागरिक शिक्षा तथा सचेतनामूलक अभियान, खोज तथा उद्धार कार्य, जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालनलगायतका तयारीमा जोड दिइएको छ।
खासगरी विपदको बेला राहत, पुनर्स्थापना, खाद्यान्न उपलब्धता, शुद्ध खानेपानी र स्वास्थ्य सेवा सुनिश्चित गर्न सबै तहका निकायलाई निर्देशन दिइएको छ।
विशेषज्ञहरूको भनाइमा मनसुनजन्य विपदको जोखिम न्यूनीकरणमा सरकार, स्थानीय तह, सुरक्षाकर्मी, स्वयंसेवी संस्था र नागरिक समाज सबैको समान उत्तरदायित्व रहनेछ।
लुम्बिनी प्रदेशलाई मनसुनजन्य विपदबाट सुरक्षित राख्न सबै पक्ष संवेदनशील, उत्तरदायी र सक्रिय हुनुपर्ने आवश्यकता प्रस्ट भएको छ। सक्रिय सहभागिता र समन्वयबिना विपदको प्रभाव कम गर्न सकिने छैन भन्नेमा सरोकारवालाहरू एकमत छन्।