११, असार २०८२
बाँके ।नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसाको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७औँ नगरसभामा नगर उपप्रमुख तथा सभाका उपाध्यक्ष कमरुद्दिन राईले आगामी वर्षको अनुमानित आय-व्यय विवरण सार्वजनिक गर्नुभएको हो।
सार्वजनिक बजेट अनुसार वडा कार्यालयहरूका लागि २० करोड रुपैयाँ र विभिन्न महाशाखा तथा शाखामार्फत सञ्चालन हुने कार्यक्रमका लागि ८ करोड २५ लाख २४ हजार रुपैयाँको सिलिङ तोकिएको छ। चालू खर्चका लागि ३८ करोड ५६ लाख रुपैयाँ छुट्याइएको छ भने आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय समानीकरणमार्फत २६ करोड ७९ लाख, प्रदेश सरकारबाट १ करोड ९० लाख र आन्तरिक आम्दानीतर्फ २२ करोड १२ लाख रुपैयाँ प्रक्षेपण गरिएको छ।
यसअघि नगर प्रमुख तथा सभाध्यक्ष प्रशान्त विष्टले आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत नीतिमा कृषि, पर्यटन, उद्योग, व्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ। कृषिको आधुनिकीकरण, गड्यौला मल र जडीबुटी खेती प्रवर्द्धन, पशुजन्य रोग नियन्त्रणका लागि समयअनुसार भ्याक्सिनको व्यवस्था, पश्चिम नेपालका लागि नेपालगन्जलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्न पूर्वाधार निर्माण तथा व्यावसायिक वातावरणको सृजनाको योजना समेटिएको छ। साथै, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा र १०८ फिटे हनुमानगढी परिसरलाई समेटेर धार्मिक सद्भावयुक्त सर्किट क्षेत्रको विकास गर्ने र नेपालगन्ज तथा वरपरका पर्यटकीय क्षेत्रलाई भिजिट वेस्टर्न नेपाल कार्यक्रममा समावेश गर्ने योजना समेत प्रस्तुत गरिएको छ।
ज्येष्ठ नागरिकका लागि घरमै गई औषधि उपचार सेवा, उपमहानगरलाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य, छात्रामैत्री चेन्जिङ्ग रुमसहितको शौचालयको निर्माण, धार्मिक विद्यालयको गुणस्तरीयता, ‘ग’ वर्गको अपाङ्गता भएका तथा अल्वानिज्म पीडितको स्वास्थ्य बीमा, मातृभाषा संरक्षण, भवन स्वीकृतिमा सफ्टवेयर प्रणाली अनिवार्यता, ‘एक घर एक रुख’ अवधारणाको कार्यान्वयन र सञ्चार प्रवर्द्धन कार्यक्रमको निरन्तरता जस्ता सामाजिक र समावेशी विषयहरूलाई बजेटमा प्राथमिकता दिइएको छ।
नगरसभामा विभिन्न वडाका अध्यक्षहरू—प्रमोद रिजाल, राजकुमार साहु, दीपक कुमार वर्मा, गोपाल पुन, सराफत हुसेन शेख, कौशल कुमार धोबी, मनोज कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। नगर अधिवेशनको स्वागत सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले गर्नुभएको थियो। सार्वजनिक बजेट र नीति कार्यक्रमले समावेशी विकास र सुशासनको दिशामा उपमहानगरको प्रतिबद्धता प्रष्ट पार्ने विश्वास नगरवासीले व्यक्त गरेका छन्।