खजुरा गाउँपालिकामा कुपोषण शून्य बनाउने अभियान: पोषणमैत्री स्थानीय शासन स्थापना तर्फको पहल

  • नमस्ते कर्णाली

  • २२, असार २०८२
    बाँके ।बाँकेको खजुरा गाउँपालिकाले कुपोषण न्यूनीकरण गर्दै बालबालिकाको समग्र स्वास्थ्य सुधार गर्ने उद्देश्यले पोषणमैत्री स्थानीय शासन स्थापना गर्ने तयारी सुरु गरेको छ। यसै सन्दर्भमा सरोकारवालाहरूलाई समेटेर अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार, नवजात शिशु र बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई प्राथमिकतामा राखी पोषण विशेष कार्यक्रम सुरु गरिएको हो। “बच्चा जन्मेदेखि नै उनको तौल, खानपान र स्वास्थ्य अवस्थाको विवरण राखिन्छ,” उहाँले भन्नुभयो, “स्वास्थ्यमा समस्या देखिएमा गाउँपालिकाले उपचारको व्यवस्था मिलाउनेछ।”

    गाउँपालिकाले राखेको तथ्यांकका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने र नियमित लेखाजोखा तथा अनुगमनसमेत गर्ने जनाएको छ। यस अभियानलाई प्रभावकारी बनाउन सबै वडाका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह र महिला समूहसँग सुझाव संकलन भइरहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले जानकारी दिनुभयो।

    “कार्यक्रमको मुख्य उद्देश्य समाजमा हुने कुपोषणलाई हटाएर सक्षम र स्वास्थ्य नागरिक उत्पादन गर्नु हो,” अध्यक्ष विकले भन्नुभयो, “बालबालिकाको तौल, मोटाई, बृद्धि विकासको नियमित अभिलेख राखिनेछ, र सोही आधारमा आवश्यक उपचार तथा सल्लाह गरिनेछ।”

    गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउन योजनाबद्ध रुपमा स्वास्थ्य क्षेत्रको विकास गरिरहेको पनि अध्यक्ष विकले स्पष्ट पार्नुभयो। उपाध्यक्ष मञ्जु मल्लले पनि पोषण कार्यक्रम गाउँपालिकाको प्रमुख सामाजिक एजेण्डा बनेको उल्लेख गर्दै महिलाको स्वास्थ्य, हकअधिकार तथा क्षमता विकासमा समेत गाउँपालिकाले चरणबद्ध रुपमा काम गरिरहेको बताउनुभयो। “यो कार्यक्रमलाई नमुना कार्यक्रमका रुपमा सफल बनाउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

    खजुरा गाउँपालिकाको यो पहलले स्थानीय तहमै बालबालिकाको पोषण तथा स्वास्थ्य सुधारमा नमूना उदाहरण बन्ने अपेक्षा गरिएको छ।

     

  • २२ असार २०८२, आईतवार ०८:१२ प्रकाशित

  • Nabintech