२३, असार २०८२
बुटवल । मुलुकमै अत्याधुनिक सुविधासहितको सबैभन्दा ठूलो सरकारी अस्पताल बन्ने लक्ष्यसहित बुटवलमा निर्माण भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालको कार्यप्रगतिका विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ।
अर्थमन्त्री पौडेलले निर्माणस्थलमा पुगेर पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलसँग हालसम्मको निर्माण प्रगतिबारे जानकारी लिनुभएको थियो। सो अवसरमा पोखरेलले कुनै ठूलो विपत्ति नआएमा तोकिएको पाँच वर्षको अवधि अगावै, चार वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“हामी निर्धारित समयभन्दा एक वर्षअगावै योजना सम्पन्न गर्ने लक्ष्यमा छौं,” पोखरेलले भन्नुभयो। निरीक्षणपश्चात अर्थमन्त्री पौडेलले प्रतिबद्धताअनुसार गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो।
हालसम्म अस्पताल भवन निर्माणमा २६ प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणले जनाएको छ। मुख्य भवनको बेसमेन्ट, क्यान्सर उपचार भवनको ढलान तथा र्याफ्ट फाउण्डेशनको काम सकिएको साइट इन्चार्ज शङ्कर सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो बेसमेन्ट र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानसमेत सम्पन्न भइसकेको छ।
निरीक्षण टोलीमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, प्रदेश सदस्य गोपाल राना लगायतको उपस्थिति रहेको थियो। अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल लगायतले टोलीलाई स्वागत गरेका थिए।
करीब ८ अर्ब ९९ करोड रुपैयाँको लगानीमा निर्माणाधीन अस्पताल दुई भवनसहित उपकरण तथा आन्तरिक व्यवस्थापनमा समेत अत्याधुनिक बनाइनेछ। निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन तथा रेलिगेर समूहले संयुक्तरूपमा लिएका छन्। निर्माण कार्य २०८० माघ १८ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो।
१२ तले सो भवनमा तल्लो दुई तला पार्किङका लागि छुट्याइएको छ भने अन्य तल्लाहरूमा ओपिडी, इमर्जेन्सी सेवा, इन्डोर सेवा र १२ सय शय्याको उपचार सुविधा रहने गरी डिजाइन गरिएको छ। अस्पताल लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना मानिन्छ।