९,साउन २०८२
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया र थालसिमिया परीक्षण गर्न सकिने अत्याधुनिक ‘एचपीएलसी’ (HPLC) मेसिन जडान गरिएको छ। प्रदेश सरकारको सहयोगमा प्राप्त उक्त मेसिन नेपालमै पहिलोपटक भेरी अस्पतालमा जडान गरिएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार, भारतबाट आएका इन्जिनियर टोलीले हाल मेसिन जडानको काम अन्तिम चरणमा पुर्याइरहेका छन्। यस मेसिनको सञ्चालन सुरु भएपछि १६ महिनामुनिका शिशुहरूमा सिकलसेल रोगको समयमै पहिचान सम्भव हुने अस्पतालले जनाएको छ।
“यसअघि नवजात शिशुमा सिकलसेलको परीक्षण सम्भव थिएन, अब जन्मे लगत्तै रगतको नमुना संकलन गरेर परीक्षण गर्न सकिनेछ,” मेसु सुवेदीले बताउनुभयो।
भेरी अस्पतालले सिकलसेल पीडितका लागि हाल पनि विशेष सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा ६ शैयाको छुट्टै वार्डमा रगत चढाउने व्यवस्था, १० शैयाको भर्ना वार्ड तथा १ लाख रुपैयाँसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आइरहेको मेसु सुवेदीले जानकारी दिनुभयो।
हाल अस्पतालमा १ हजार ४ सयभन्दा बढी सिकलसेलका विरामी नियमित जाँचमा रहेका छन्। बंशाणुगत रूपमा सर्ने यो रोग थारु समुदायमा विशेष रूपमा देखिने भएकाले बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा यसको प्रभाव उच्च छ। तर, चिकित्सकहरूका अनुसार फरक जातीय समुदायसँग विवाह भएमा सन्तानमा सिकलसेल देखिने सम्भावना निकै कम हुने गरेको पाइन्छ।
भेरी अस्पतालमा एचपीएलसी मेसिनको प्रयोगले सिकलसेल तथा थालसिमियाको प्रारम्भिक पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।