काँचो स्याउ टिप्न रोक: जुम्लाको स्याउको पहिचान जोगाउन कृषि कार्यालयको अपिल

  • नमस्ते कर्णाली

  • १२, साउन २०८२
    जुम्ला ।जुम्लाका किसानलाई काँचो तथा अपरिपक्क स्याउ नटिप्न कृषि विकास कार्यालय जुम्लाले अपिल गरेको छ। अपरिपक्क स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा जिल्लाको विशिष्ट स्याउ पहिचान गुम्ने खतरा बढेकाले भदौ दोस्रो सातासम्म प्रतीक्षा गर्न आग्रह गरिएको हो।

    कृषि कार्यालयका अनुसार, स्याउ पूर्ण रूपमा परिपक्क भई रङ ७० प्रतिशतभन्दा बढी रातो भएपछि मात्र टिप्न र बिक्री गर्न सकिने छ। “बगैचामा नपाकेको स्याउ टिप्दा न स्वाद रहन्छ, न पौष्टिकता,” कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए, “त्यो स्याउले बजार गुमाउँछ र किसानको मुनाफा घट्छ।”

    कृषि विज्ञहरूका अनुसार भदौ महिनापछि मात्र स्याउ टिप्नु उपयुक्त हुन्छ। काँचो स्याउ बिक्रीमा रोक लगाउन गत साउन २ गते जिल्ला समन्वय समितिको बैठकमार्फत सबै स्थानीय तहलाई सिफारिस नदिन आग्रह गरिएको थियो। स्थानीय तह, वडा कार्यालय र कृषि शाखाले निगरानी बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ।

    पछिल्ला वर्षहरूमा अपरिपक्क स्याउ बजारमा गएकाले जुम्लाको ‘ब्राण्ड’ बनेको स्याउको पहिचान कमजोर हुँदै गएको कृषि कार्यालयको ठम्याइ छ। यसै कारण किसानहरूलाई जनचेतना फैलाउने प्रयास पनि थालिएको छ।

    गत आर्थिक वर्षमा जुम्लाबाट ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो। कुल ४,२५० हेक्टर क्षेत्रफलमा खेती गरिएका स्याउबाट २० हजार ५११ मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन भएको थियो, जसमा ९ हजार ३९१ मेट्रिकटन जिल्लाबाहिर निर्यात गरिएको थियो।

    रेड, रोयल, गोल्डेनसहित उच्च घनत्वको स्याउ उत्पादन भइरहेको जुम्लामा हाल १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन्। जिल्लाका आठवटै पालिकाका ६० वटै वडामा स्याउ खेती फैलिएको छ।

    कृषि कार्यालयले स्याउ उत्पादनलाई व्यवस्थित गर्दै व्यवसायिक कृषि प्रणालीमा लैजान सके किसानले मनग्य आम्दानी गर्न सक्ने भन्दै ढिलो भए पनि परिपक्क र गुणस्तरीय स्याउ मात्रै बजारमा पुर्‍याउन आग्रह गरेको छ।

     

     

  • १३ श्रावण २०८२, सोमबार ०७:५९ प्रकाशित

  • Nabintech