१३, साउन २०८२
जुम्ला ।‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ, सानैदेखि विज्ञान र प्रविधिमा रुचि राख्दै आएका जुम्ला तातोपानी गाउँपालिका–५ लाम्राका टक्कबहादुर नेपाली (सार्की) आज नयाँ पुस्ताका लागि प्रेरणाका पात्र बनेका छन्। आर्थिक रूपमा कमजोर परिवारमा जन्मिएका टक्कबहादुरले बाल्यकालमा काठ, माटोबाट गाडी, हेलिकप्टर, प्लेनजस्ता खेलौना बनाउँदै कल्पनालाई आकार दिन्थे।
२०४० सालमा भक्तबहादुर सार्की र बिउला सार्कीको कोखबाट जन्मिएका उनी अहिले ४२ वर्षका भए। सन् २०५८ मा एसएलसीमा अनुत्तीर्ण भएका उनी दोस्रो प्रयासमा पास भए पनि उच्च शिक्षा हासिल गर्न सकेनन्। त्यसपछि उनले २०६० सालतिर नेपालगञ्ज पुगेर हाउस वायरिङ सम्बन्धी सीप सिके। त्यही क्रममा विदेश जाने सपना बोकेर २०६२ मा मलेसिया पुगे तर त्यहाँको श्रम शोषण, न्यून पारिश्रमिक र कठोर परिस्थितिका कारण एक वर्षमै फर्किनुपर्यो।
विदेशमा सहनु परेको दुःखबाट पाठ सिक्दै उनी २०६४ मा शिक्षण पेशामा लागे। नुवाकोटस्थित सेतीबाडा निमाविमा निजी रूपमा विज्ञान विषय पढाउन थाले। विज्ञानप्रतिको रुचि र व्यवहारिक अभ्यासमा केन्द्रित पठनपाठन विधिले उनले स्थानीय स्तरमै लोकप्रियता पाए। स्कुले जीवनमै उनले बनाएको विद्युतीय भोटिङ मेसिनले गाउँदेखि सहरसम्म चर्चा पायो। त्यसबापत साविकको गाविसले नगद पुरस्कार दिँदा उनको आत्मविश्वास झनै बढ्यो।
उक्त आविष्कारलाई निर्वाचन आयोगमा समेत प्रदर्शन गरे। यद्यपि, परीक्षणपछि उक्त भोटिङ मेसिनको ‘पेटेन्ट राइट’ भारतसँग रहेकाले त्यसबारे थप काम नगर्न सल्लाह दिइयो। उनले त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयबाट नयाँ नयाँ सीप र प्रविधिमा काम गर्न थाले। टोपीमा सोलार जडान गरेर मोबाइल चार्ज गर्ने, साइकलको गतिबाट मोबाइल चार्ज हुने डायनामो बनाए, यद्यपि त्यति सफल भएनन्। तर यसबाट उनलाई व्यवसायिक सोच र सिर्जनशीलताको नयाँ दिशा मिल्यो।
२०७४ सालमा उनले युट्युबमार्फत अध्ययन गरी प्याराग्लाइडिङ बनाए, जुन सफल परीक्षण भएपछि उनलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त भयो। साथै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पनि उद्यमी राष्ट्रिय पुरस्कारसहित सात लाख रुपैयाँभन्दा बढीका विभिन्न पुरस्कारले सम्मानित गरियो।
उनको पछिल्लो सिर्जना हो – नेपाल एयरलाइन्सको झल्को दिने प्लेन संरचना। हालै उनले आफ्नो घरको छतमा सिमेन्ट, गिट्टी, बालुवा र रडको प्रयोग गरेर नेपाल ध्वजाबाहक झण्डा अंकित प्लेन बनाएका छन्। यसमा लगभग १ लाख रुपैयाँ खर्च भएको बताइन्छ। प्लेन बनाएको घर ‘जुम्लाको प्लेन भएको घर’ भनेर चिनिन थालेको छ। कर्णाली राजमार्गको छेउमै भएकाले त्यहाँ पुग्ने जो कोही फोटो खिच्ने, टिकटक बनाउने, अवलोकन गर्ने गर्छन्।
टक्कबहादुर भन्छन्, “मुलुकका कुनाकाप्चामा रहेका युवाहरूमा पनि सिर्जनशीलता र नवप्रवर्तनको असीम सम्भावना छ, अवसर र साथ मिले उनीहरूले चमत्कार गर्न सक्छन्।”
हालसम्म कुनै निकायबाट ठोस सहयोग नभए पनि तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले सहयोगको आश्वासन दिएको टक्कबहादुरले बताए। अहिले उनलाई प्लेनजस्तै खाजाघर वा मिटिङ हल बनाउन सुझाव आउने गरेको छ।
टक्कबहादुर नेपालीको सङ्घर्ष, नवप्रवर्तन र सफलताको यो कथा केवल उनको व्यक्तिगत यात्रा होइन, यो सम्भावना, प्रतिभा र संघर्षका बीच चुलिंदो नेपाली सपनाको जीवित उदाहरण हो।