१३, साउन २०८२
जुम्लाको नाम लिनासाथ स्याउको चर्चा हुने गरेको छ। यही स्याउले जुम्लालाई नेपालको ‘स्याउ राजधानी’को गर्विलो पहिचान दिलाएको छ। जुम्लाको चन्दननाथ नगरपालिकाले यही गौरवलाई जगेर्ना गर्न सदरमुकाम खलंगामा ‘स्याउ (एप्पल) चोक’ निर्माण गरेको छ।
नगरपालिका उपप्रमुख रामदेवी खड्काका अनुसार नगर क्षेत्रको वडा नम्बर ६, दैलो अगाडि रहेको दौतरी होटल नजिक चोक निर्माण गरिएको हो। नगरस्तरीय आयोजनामार्फत पाँच लाख रुपैयाँको लागतमा बनाइएको यो चोक अब जुम्ला प्रवेश गर्नेहरूलाई स्याउको पहिचानसहित स्वागत गर्ने प्रवेशद्वारजस्तै बनाउने योजना रहेको छ।
उपप्रमुख खड्का भन्छिन्, “जुम्लालाई स्याउको राजधानी भनेर चिनिन्छ। यही पहिचानलाई मजबुत बनाउन र प्रचारप्रसार गर्न यो चोक निर्माण गरिएको हो।”
त्यस्तै, मेयर राजुसिंह कठायतले भने, “प्रयाप्त स्थान अभावले चोक अलि साघुरो भएको छ। भविष्यमा थप ठाउँ भेटिएमा मार्सी धानको चोक पनि निर्माण गर्न जरुरी देखिएको छ।” उनका अनुसार जुम्ला विश्वकै उच्च स्थानमा (२८५० मिटर) फल्ने ‘काली जुम्ली’ मार्सी धानको पहिचानले पनि पर्यटक आकर्षणमा टेवा पुर्याउनेछ।
स्याउ खेतीको इतिहास हेर्दा जुम्लामा सन् १९६५ (वि.सं. २०२२) मा भारतको कश्मीरबाट ल्याइएको बिरुवा लगाएर खेती सुरु भएको हो। अहिले जिल्लाको एक नगरपालिका र सातवटा गाउँपालिकामा व्यावसायिक स्याउखेती भइरहेको छ। कृषि विकास कार्यालयका अनुसार जुम्लामा हाल १६ हजारभन्दा बढी घरधुरीमा स्याउखेती हुँदै आएको छ भने कुल ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भइरहेको छ।
जुम्लालाई वि.सं. २०६४ मा ‘अर्गानिक जिल्ला’ घोषणा गरिएको थियो। त्यसयता यहाँ उत्पादन हुने स्याउ अर्गानिकको रूपमा प्रसिद्ध छ। यहाँ ‘गोेल्डेन’, ‘रेड’, ‘रोयल’, ‘जोनाथन’, ‘कक्स ओरेन्ज टिपिन’, ‘म्याकन्ज’ जातका स्याउका साथै हालै ‘इटालिएन फुजी’ र ‘गाला’ जातको पनि खेती भइरहेको छ।
पछिल्लो वर्ष जुम्लाबाट २० हजार ५११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भई झन्डै ६१ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको कृषि विकास कार्यालयले जनाएको छ। जुम्लाको स्याउको मुख्य बजार काठमाडौं, पोखरा, विराटनगरलगायतका सहरहरू हुन्।
स्याउ चोकको निर्माणले अब जुम्लाको पहिचान अझ स्पष्ट रूपमा झल्काउने विश्वास लिइएको छ। यो चोकले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जुम्लाको जैविक सम्पदा र ऐतिहासिक गर्वको झलक दिनेछ।