हुम्ला।मुगु लिङ्क रोड अन्तर्गत लोतीस्थित कर्णाली नदीमा निर्माण गरिएको बेलिब्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ। चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा रहेको यो पुलको उद्घाटन पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार गर्नुभयो।
शाही जिल्ला सदरमुकामबाट हेलिकप्टरमार्फत चङ्खेली पुग्नुभएको थियो। उद्घाटन समारोहमा उहाँले पुल दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि तत्कालीन सरकारले प्राथमिकता नदिँदा ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अब म फेरि मुख्यमन्त्री भएमा बाँकी सडक निर्माणमा प्राथमिकता दिइनेछ।” साथै, उहाँले पुल निर्माणबाट क्षतिग्रस्त जमिनमा एक महिनाभित्र घेराबार गर्न निर्देशनसमेत दिनुभयो।
चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार बेलिब्रिज सञ्चालनमा आएपछि हुम्ला–मुगु सडक औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। यसले मुगु, रारा, लिमि हुँदै कैलाशमानसरोवरसम्मको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ।
यसअघि नदीमा पुलको अभावमा स्थानीयले तुइन प्रयोग गर्दै जोखिम मोलेर यात्रा गर्नुपर्थ्यो। अब भने तुइन विस्थापित भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीका अनुसार करिब ४ करोड ९८ लाख रुपैयाँ लागतमा पाँच महिनामा निर्माण सम्पन्न भएको पुल ४२ मिटर लामो, १० मिटर अग्लो र ३.१५ मिटर चौडा छ।
स्थानीय दन्त शाहीले यो पुलले केवल चङ्खेली गाउँपालिका मात्र नभई सम्पूर्ण हुम्लालाई राष्ट्रिय पूर्वाधार सञ्जालमा जोड्ने महत्वपूर्ण विकल्प उपलब्ध गराएको बताउनुभयो। साथै, हिउँदमा हरेक वर्ष अस्थायी काठेपुल निर्माण गर्नुपर्ने झन्झटसमेत अन्त्य भएको छ।