३०, पुस २०८२
सुर्खेत ।मुख्य आयोजक संघीय सरकारकै ढिलासुस्तीका कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा परेको छ । यसअघि तीन पटक मिति सारिसकिएको प्रतियोगिता चौथोपटक पनि निर्धारित समयमा नहुने संकेत देखिएको छ ।
जेन–जी आन्दोलनपछि १९ कात्तिकमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति तय गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गुप्ताको अध्यक्षतामा बसेको परिषद्को १३२औँ बोर्ड बैठकले चौथोपटक प्रतियोगिताको मिति तोकेको थियो ।
तर पछिल्लो पटक तय गरिएको मितिमा प्रतियोगिता सञ्चालन गर्न सकिने पर्याप्त आधार हुँदाहुँदै पनि युवा तथा खेलकुद मन्त्रालयको ढिलाइका कारण प्रतियोगिता अनिश्चित बनेको हो । बुधबार सुर्खेत पुगेका मन्त्री गुप्ताले तोकिएकै समयमा प्रतियोगिता नहुने आशय व्यक्त गरे पनि तयारी तीव्र बनाइएको दाबी गरे । खेलकुदको मिति तय भएपछि आवश्यक तयारी थाल्नुपर्ने बेला मन्त्रालय चुप बसेको र समय घर्किसकेपछि मात्रै खरिद प्रक्रिया अघि बढाउन खोजिएको भन्दै आलोचना भइरहेको छ ।
‘खेलकुद प्रतियोगिता सञ्चालन सामान्य विषय होइन,’ मन्त्री गुप्ताले भने, ‘मैले जिम्मेवारी सम्हालेपछि बजेट सुनिश्चित गर्ने, समिति तथा उपसमिति गठन गर्ने काम अघि बढाइएको हो । प्रतियोगिता सफल बनाउन संघ र प्रदेश सरकारबीच समन्वय आवश्यक छ ।’ उनले तोकिएको मितिमा नभए पनि फागुनभित्रै प्रतियोगिता गराउने गरी तयारी भइरहेको दाबी गरे ।
तर मन्त्री गुप्ताकै भनाइअनुसार अहिलेको अवस्थामा फागुनमा प्रतियोगिता सञ्चालन गर्न कानुनी तथा प्रशासनिक जटिलता देखिन्छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेलकुद सञ्चालन निर्देशिका अहिलेसम्म परिमार्जन भएको छैन । साथै, अर्थ मन्त्रालयले रोक्का राखेको बजेट फुकुवा नभएकाले आवश्यक खरिद प्रक्रिया अघि बढ्न सकेको छैन ।
सार्वजनिक खरिद ऐनअनुसार खेलकुद गतिविधिका लागि आवश्यक सेवा तथा सामग्री खरिद गर्न कम्तीमा ३५ दिनको बोलपत्र प्रक्रिया आवश्यक पर्छ । त्यसपछि बोलपत्र मूल्यांकन र आपूर्तिकर्ता छनोटमा थप समय लाग्ने हुँदा अब एक महिना मात्र बाँकी रहँदा फागुनको पहिलो साता प्रतियोगिता सञ्चालन असम्भवजस्तै देखिएको छ । ३ माघदेखि २१ फागुनसम्म प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु हुने र सोही मितिसम्म मात्रै वर्तमान मन्त्रीको कार्यकाल रहने भएकाले चैतसम्म पनि प्रतियोगिता नहुने निश्चितजस्तै देखिन्छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलसँगको भेटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले पनि तोकिएको मितिमा प्रतियोगिता सञ्चालन सम्भव नहुने स्वीकार गरेका छन् । ‘कुन खेल कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न आएका हौँ,’ मेहताले भने, ‘प्रदेशसँग छलफल नगरी खरिद प्रक्रियामा जान मिल्दैन । सम्भवतः नयाँ मिति प्रस्ताव गरेर फर्किने तयारी छ ।’ मन्त्री र सदस्य–सचिवका अभिव्यक्तिले प्रतियोगिता कहिले हुने हो भन्ने अझै अनिश्चित रहेको देखाउँछ ।
पोखरामा ३ कात्तिक २०७९ मा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहबाट १०औँ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो । ‘खेलकुदको महाकुम्भ’ मानिने प्रतियोगिता कर्णालीमा पहिलो पटक आयोजना हुन लागे पनि मिति भने पटक–पटक सारिँदै आएको छ । सुरुमा २–८ मंसिर २०८१, त्यसपछि २३–३० चैत २०८१ र तेस्रोपटक ३–१० जेठ २०८२ मा मिति तय गरिएको थियो । पूर्वाधार अभाव र मौसमी प्रतिकूलताको कारण देखाउँदै ती सबै मिति स्थगित भएका थिए ।
यसैबीच, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंसँगको भेटमा मुख्यमन्त्रीले मिति तोकेपछि पनि आवश्यक तयारी अघि नबढाइएको भन्दै ध्यानाकर्षण गराए ।
‘अहिलेसम्म खरिद प्रक्रिया सुरु भएको छैन,’ मुख्यमन्त्री कँडेलले भने, ‘तयारी नै नभएको प्रतियोगिताबारे जनतामा भ्रम फैलाउने काम बन्द गर्नुपर्छ । प्रतियोगिता हुने निश्चित भए प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार छ ।’
संघीय सरकारको अस्पष्ट तयारी, कानुनी जटिलता र समय अभावका कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमै पर्ने निश्चित देखिएको छ ।











