जमुनाह नाका मानव बेचबिखनको जोखिममा: एक वर्षमै १,५३८ महिला तथा बालबालिकाको उद्धार

  • नमस्ते कर्णाली

  • २९, फाल्गुन २०८२
    बाँके ।नेपाल–भारत सीमामा पर्ने बाँकेको जमुनाह नाका मानव बेचबिखनको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा देखिएको छ। पछिल्लो समय जोखिमपूर्ण यात्रामा भारततर्फ जाने महिलाहरूको संख्या बढ्दै गएपछि यो नाका अत्यन्तै संवेदनशील बन्दै गएको सरोकारवाला निकायहरूले बताएका छन्। सीमा नाकामा निगरानी बढाइए पनि मानव बेचबिखनको प्रयास भने अझै रोकिएको छैन।
    नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहबाट हरेक वर्ष ठूलो संख्यामा महिला तथा बालिकाहरूको उद्धार हुँदै आएको छ। विभिन्न प्रलोभन, रोजगारीको झुटो आश्वासन, विवाहको बहाना वा अन्य कारण देखाएर भारततर्फ लैजान खोजिएका महिला तथा बालबालिकालाई विभिन्न संघसंस्थाको समन्वयमा रोक्ने र उद्धार गर्ने काम भइरहेको छ। यद्यपि सबैलाई रोक्न सम्भव नभएकाले केही महिला तथा बालबालिका भने भारत प्रवेश गर्न सफल हुने गरेको सम्बन्धित निकायले जनाएको छ।
    मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था माइती नेपाल नेपालगन्ज शाखाका अनुसार जमुनाह नाका मानव बेचबिखनको दृष्टिले अत्यन्त संवेदनशील नाकामध्ये एक हो। माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार हरेक वर्ष ठूलो संख्यामा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार गरिए पनि यस्तो प्रयास पूर्ण रूपमा रोकिएको छैन।
    कोइरालाका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै जमुनाह नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका एक हजार ५३८ जना महिला तथा बालबालिकालाई उद्धार गरेर फिर्ता पठाइएको छ। भारततर्फ लैजान खोजिएका ती महिला तथा बालबालिकालाई सीमामा निगरानी गर्ने टोलीले शंका लागेपछि सोधपुछ गरी सुरक्षित रूपमा उद्धार गरेको हो।
    उद्धार गरिएका एक हजार ५३८ जनामध्ये ३३५ जना बाँके जिल्लाका महिला तथा बालबालिका रहेका छन्। बाँकेका विभिन्न स्थानीय तहबाट जोखिमपूर्ण अवस्थामा भारततर्फ जान लागेका उनीहरूलाई सीमा नाकाबाट फिर्ता ल्याइएको माइती नेपालले जनाएको छ।
    संस्थाका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा धेरै कोहलपुर नगरपालिकाका ८० जना महिला तथा बालबालिका रहेका छन्। त्यसपछि बैजनाथ गाउँपालिकाका ६८ जना, नेपालगन्ज उपमहानगरपालिकाका ५६ जना, खजुरा गाउँपालिकाका ४७ जना, राप्तीसोनारी गाउँपालिकाका ४५ जना, जानकी गाउँपालिकाका २० जना, नरैनापुर गाउँपालिकाका १० जना र डुडुवा गाउँपालिकाका ९ जना महिला तथा बालबालिकालाई जमुनाह नाकाबाट उद्धार गरिएको थियो।
    मानव बेचबिखनको जोखिमसँगै हराएका महिला तथा बालबालिकाको संख्या पनि उल्लेख्य रहेको तथ्यांकले देखाएको छ। माइती नेपाल नेपालगन्ज शाखाका अनुसार सोही अवधिमा हराएका महिला तथा बालबालिकाको खोजतलास तथा उद्धारका लागि ८३३ वटा निवेदन परेका थिए। तीमध्ये हालसम्म ४३७ जना मात्रै फेला परेका छन् भने अन्यको खोजी कार्य अझै जारी रहेको बताइएको छ।
    हराएका व्यक्तिहरूमध्ये बाँके जिल्लाका मात्रै ११९ जना रहेकोमा तीमध्ये ११४ जना फेला परेको संस्थाले जनाएको छ। बाँकी व्यक्तिहरूको खोजीका लागि सम्बन्धित निकाय र परिवारसँग समन्वय गरेर प्रयास भइरहेको बताइएको छ।
    संयोजक कोइरालाले पछिल्लो समय मानव बेचबिखनका तरिका र माध्यममा परिवर्तन हुँदै गएको बताउनुभयो। उहाँका अनुसार पहिले जस्तो प्रत्यक्ष रूपमा फकाएर लैजाने मात्र नभई अहिले सामाजिक सञ्जाल, इन्टरनेट र आधुनिक प्रविधिको प्रयोग गरेर पनि युवती तथा महिलाहरूलाई प्रलोभनमा पार्ने प्रयास भइरहेको छ।
    “सामाजिक सञ्जालमार्फत चिनजान गराउने, विदेशमा राम्रो रोजगारी दिलाइदिने, विवाह गराइदिने वा घुमाउन लैजाने जस्ता बहानामा महिला तथा बालबालिकालाई सीमासम्म ल्याउने प्रवृत्ति बढ्दै गएको छ,” उहाँले भन्नुभयो।
    उहाँका अनुसार विशेषगरी भारतीय सीमासँग जोडिएका पश्चिम नेपालका बाँके र बर्दिया जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहेका क्षेत्र हुन्। खुला सीमा, आर्थिक अभाव, बेरोजगारी, शिक्षा र चेतनाको कमी जस्ता कारणले यी क्षेत्रका महिला तथा बालबालिका सजिलै प्रलोभनमा पर्ने सम्भावना बढी रहने गरेको उहाँले बताउनुभयो।
    मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन्। साथै परिवार, समुदाय र स्थानीय सरकार सबैले संयुक्त रूपमा सतर्कता अपनाए मात्रै मानव बेचबिखन जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ।

  • २९ फाल्गुन २०८२, शुक्रबार ०८:३५ प्रकाशित

  • Nabintech