६, चैत २०८२
बाँके ।नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन नियन्त्रण तथा रोकथामका लागि दुवै देशका सरोकारवालाबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसै सन्दर्भमा बर्दियाको गुलरिया नगरपालिकामा इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको छ।
बाँके यूनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा आयोजित बैठकले सीमापार मानव बेचबिखन सञ्जाललाई कमजोर बनाउँदै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने लक्ष्य लिएको थियो।
बैठकमा मधुवन नगरपालिका र राजापुर नगरपालिकाका उपप्रमुख, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय बर्दिया तथा इलाका प्रहरी कार्यालय राजापुरका अधिकारीहरू, साथै मानव बेचबिखनविरुद्ध क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा भारतीय संस्था ‘दिहात’का प्रमुख सञ्चालन अधिकृत दियांशु चतुर्वेदी र मोहम्मद इमरान अन्सारीले मानव बेचबिखनको वर्तमान अवस्था, चुनौतीहरू तथा सीमापार समन्वयका अनुभव प्रस्तुत गर्दै संयुक्त प्रयासको अपरिहार्यता औंल्याए।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले लागूऔषध दुव्र्यसन तथा जोखिममा रहेका समूहप्रति लक्षित सचेतनामूलक अभियान प्रभावकारी बनाउन स्थानीय तह र सुरक्षा निकायको सक्रिय भूमिका आवश्यक रहेको बताए।
बैठकले सीमापार सामाजिक सञ्जाल समन्वय समूह गठन गर्ने, सूचना आदानप्रदान प्रणालीलाई सुदृढ बनाउने, संयुक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा नियमित समन्वय बैठकलाई निरन्तरता दिने निर्णय गरेको छ। साथै, उद्धार, पुनःस्थापना र पुनःएकीकरणका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने सहमति भएको छ।
यो समन्वय बैठकलाई मानव बेचबिखन नियन्त्रणका लागि नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य मजबुत बनाउने तथा सीमावर्ती समुदायको सुरक्षामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।











