७, चैत २०८२
बाँके ।बाँकेमा इस्लाम धर्मावलम्बीहरूले हर्षोल्लासका साथ ईद उल फित्र पर्व मनाइरहेका छन्।
नेपालगञ्जस्थित विपी चोकको इदगाहमा आज बिहान हजारौँ मुस्लिम समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई सामूहिक नमाज अदा गरेका छन्।
नमाजपछि एक अर्कासँग अङ्कमाल गर्दै शुभकामना साटासाट गरिएको दृश्यले आपसी सद्भाव र भाइचाराको सन्देश दिएको थियो।ईद उल फित्र इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको रोजा (उपवास) को समापनको अवसरमा मनाइने महान् पर्व हो। एक महिनासम्म मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी र अन्य भौतिक सुख–सुविधाबाट टाढा रही आत्मसंयम, धैर्यता र आध्यात्मिक शुद्धताको अभ्यास गर्ने गर्दछन्।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ईदले विश्व शान्ति, सहिष्णुता र मानवतावादको सन्देश दिने उल्लेख गर्दै यस अवधिमा दानशीलता, सहानुभूति र आत्मअनुशासनमा विशेष जोड दिइने बताउनुभयो। उहाँका अनुसार, जकात फितरा (दान) दिनु यस पर्वको महत्वपूर्ण धार्मिक कर्तव्य हो, जसले समाजमा समानता र सहयोगको भावना विकास गर्छ ।
मुस्लिम धर्मगुरु मुफ्ति जाफर रजा मिस्वाहीले रोजा बस्नुले आत्मिक मात्र नभई शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउँदै संयमित जीवनशैलीले अनुशासन सिकाउने धारणा व्यक्त गर्नुभयो।
ईद पर्वका अवसरमा घरघरमा मिठाई, खजुर, सेवईं लगायतका परिकार तयार गरिन्छन् । परिवार, आफन्त तथा छिमेकीहरूबीच भेटघाट, भोज र शुभकामना आदानप्रदान गर्ने परम्पराले सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।यस वर्ष ईदको अवसरमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई कडाइका साथ व्यवस्थित गरेको छ भने विभिन्न राजनीतिक दलहरूले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेका थिए।
ईद उल फित्रले धार्मिक आस्था मात्र होइन, समाजमा एकता, सद्भाव, सहिष्णुता र मानवीय मूल्यहरूको प्रवर्द्धन गर्ने सन्देश बोकेको पर्वका रूपमा स्थापित हुँदै आएको छ।
प्रतिकूल मौसमका बाबजुद पनि बाँकेमा ईद उल फित्र उल्लासपूर्वक मनाइँदै सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरिएको छ।











