बेमौसमी वर्षाले बाँकेका इँटा उद्योगमा ठुलो क्षति: करिब ९ करोड बराबरका काँचो इँटा नष्ट

  • नमस्ते कर्णाली

  • ९, चैत २०८२

    बाँके । गत दुई दिनदेखि परेको बेमौसमी वर्षाका कारण बाँके जिल्लाका इँटा उद्योगमा ठुलो आर्थिक क्षति भएको छ। उद्योगीहरूका अनुसार पकाउनका लागि तयारी अवस्थामा राखिएका ठूलो परिमाणका काँचो इँटा गलेर नष्ट हुँदा करिब ८ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
    खुला चौरमा सुकाउन राखिएका अधिकांश काँचो इँटा वर्षासँगै बगेर माटोमा परिणत भएका छन्। इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा पिबीसी इँटा उद्योगका सञ्चालक दिपक अधिकारीका अनुसार जिल्लाभर रहेका करिब ७० वटा इँटा उद्योगमा झण्डै ३ करोड ५० लाख काँचो इँटा नष्ट भएका छन्। उनका अनुसार एउटा काँचो इँटाको मूल्य करिब २ रुपैयाँ ५० पैसा पर्ने गर्दछ।
    उहाँले बेमौसमी वर्षाका कारण एक उद्योगमै करिब पाँच लाखसम्म काँचो इँटा नष्ट भएको जानकारी दिनुभयो। २४ घण्टाको वर्षाले प्रत्येक उद्योगले करिब ३ लाखदेखि ७ लाख रुपैयाँसम्म क्षति व्यहोरेको अनुमान गरिएको छ।
    चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यस वर्षको सुरुमै ठूलो क्षति भएकाले आगामी दिनमा इँटाको उत्पादन घट्ने र बजारमा मूल्य वृद्धि हुन सक्ने चेतावनी दिनुभयो। उहाँका अनुसार सिजनको सुरुमै करिब ४ करोड रुपैयाँ बराबरका इँटा नष्ट भइसकेकाले उत्पादन सामान्य नहुँदासम्म बजारमा अभाव कायमै रहने देखिएको छ।
    सामान्यतया इँटा उत्पादकहरूले एक सिजनमा सात चरणसम्म उत्पादन गर्ने गर्दछन्, जसमा प्रत्येक चरणमा ६ लाखदेखि १० लाखसम्म इँटा तयार गरिन्छ। तर यसपटक सिजनको सुरुमै दोस्रो चरणमै ठूलो क्षति भएको व्यवसायीहरूले बताएका छन्।
    कर्णाली क्षेत्रमा भएको हिमपातसँगै परेको वर्षाले बाँकेका इँटा उद्योगलाई थप असर पुर्‍याएको बताइएको छ। इँटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाका कारण उद्योगीहरूले यस्तै क्षति व्यहोर्नु परेको उल्लेख गर्नुभयो। काँचो इँटाको बिमा व्यवस्था नहुँदा तथा क्षतिपूर्ति नपाउँदा व्यवसायी थप मारमा परेको उहाँको गुनासो छ।

  • ९ चैत्र २०८२, सोमबार १७:३५ प्रकाशित

  • Nabintech