९, चैत २०८२
बर्दिया। पछिल्लो समय बर्दिया जिल्लामा आत्महत्याका घटनाहरू बढ्दै गएको देखिएको छ, जसले गम्भीर सामाजिक चिन्ताको रूप लिएको छ। यो समस्या व्यक्तिगत वा पारिवारिक सीमाभन्दा बाहिर निस्केर समग्र समाजको मानसिक, सामाजिक तथा आर्थिक संरचनामा असर पारिरहेको सरोकारवालाहरू बताउँछन्।
मानव जीवन अमूल्य अवसर भए पनि विभिन्न कठिनाइसँग जुध्न नसक्दा केही व्यक्तिहरू निराशामा डुबेर जीवन अन्त्य गर्ने निर्णयमा पुगिरहेका छन्। बर्दियामा पछिल्ला दिनहरूमा यस्ता घटनाहरू बढ्दो क्रममा देखिन थालेका छन्, जसले परिवार र आफन्तहरूलाई गहिरो पीडामा पारिरहेको छ।
स्थानीय आइते थारुले आत्महत्याका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सहकार्यको आवश्यकता औँल्याए। उनले भने, “समाजमा आपसी सहयोग, समझदारी र संवादको कमी हुँदा मानिसहरू एक्लोपन महसुस गर्न थाल्छन्। यस्ता अवस्थाले आत्महत्या जस्तो चरम निर्णयतर्फ धकेल्न सक्छ, त्यसैले समुदायस्तरमै सचेतना र सहकार्य बढाउन जरुरी छ।”
यस्तै, जनस्वास्थ्य प्रशासक नारायण चौधरीले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, “मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा छ तर त्यसअनुसार सेवा र सचेतना विस्तार हुन सकेको छैन। समयमै परामर्श र उपचारको पहुँच नहुँदा समस्या जटिल बन्दै गएको देखिन्छ।”
जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आत्महत्याका घटनामा निरन्तर वृद्धि भइरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा १३४ जनाले आत्महत्या गरेका थिए भने २०८१/८२ मा यो संख्या बढेर १४९ पुगेको छ। चालु आर्थिक वर्षमा मात्र ९७ जनाले ज्यान गुमाइसकेका छन्। आत्महत्याका माध्यमहरूमध्ये झुन्डिएर ज्यान लिने घटना सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रमेश बिष्टले जानकारी दिएका छन्।
विशेषज्ञहरूका अनुसार आत्महत्या न्यूनीकरणका लागि बहुआयामिक प्रयास आवश्यक छ। अस्पताल, स्थानीय तह, वडा, विद्यालय तथा परिवार स्तरमा मनोसामाजिक परामर्शलाई प्रभावकारी बनाउनु जरुरी रहेको उनीहरूको भनाइ छ। मानसिक समस्या भएका व्यक्तिहरूलाई झारफुकजस्ता परम्परागत अभ्यासमा सीमित नराखी उपचारको पहुँचमा ल्याउनुपर्ने, विद्यालय तहमा नै नैतिक तथा स्वास्थ्य शिक्षालाई सुदृढ गर्नुपर्ने तथा विषादी बिक्री–वितरणलाई नियमन गर्न स्पष्ट कार्यविधि लागू गर्नुपर्नेमा जोड दिइएको छ।
जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार अपरिहार्य रहेको बताए। उनका अनुसार समयमै पहिचान, परामर्श र उपचारको व्यवस्था गर्न सके आत्महत्या जस्ता घटनाहरू उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
बढ्दो आत्महत्याका घटनाले समाजमा थप चिन्ता उत्पन्न गराएको छ। सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय, जनचेतना अभिवृद्धि तथा मानसिक स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्न सकेमा यस्ता घटनाहरू न्यूनीकरण गर्न सकिने देखिन्छ।











