सुर्खेतमा एक दिने पोषण मेला सम्पन्न

  • नमस्ते कर्णाली

  • ९, चैत २०८२

    सुर्खेत।वीरेन्द्रनगरमा एक दिने पोषण मेला सम्पन्न भएको छ । आइतबार केयर नेपाल र आइडीइ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा सुन्दर नेपाल संस्थाको सहजिकरणमा सञ्चालन भइरहेको पोषण परियोजना अन्तर्गत पोषण मेला सम्पन्न भएको हो ।

    वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र घुस्रा स्वास्थ्य चौकीसँगको समन्वयमा पोषण मेला आयोजना गरिएको हो । उक्त मेलाको मुख्य उद्देश्य बालबालिका र महिलाको पोषणको महत्वका बारेमा समुदायलाई जनचेतना दिनु हो ।

    त्यस्तै, स्थानीय कृषि उत्पादन र पोषिला खाने कुराको प्रवद्र्धन, हानिकारक सामाजिक मूल्य मान्यताको अन्त्य, बाल विवाह विरुद्ध सचेतना फैलाउने र लैंगिक विभेदले पोषणमा पारेको असरका बारेमा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

    उनले उक्त कार्यक्रमले समुदायमा पोषण व्यवहार परिवर्तनमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै कार्यक्रमलाई वीरेन्द्रनगरका सबै वडामा विस्तार गर्न जरुरी रहेको बताए । जसका लागि पोषण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न नीति, कार्यक्रम तथा बजेट बनाउँदा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

    मेलामा पोषण कर्नर, कृषि उत्पादन, कृषि प्रविधी, स्वास्थ्य तथा सरसफाइ सामाग्री प्रदर्शन गरिएको थियो । यस्तै, स्वस्थ्य बच्चा प्रतियोगिता, पोषण सम्बन्धी आमा समुह बिच हाजिरीजवाफ प्रतियोगिता, पोषिलो जाउलो बनाउने तरिका सम्बन्धी प्रदर्शन, सानो उमेर ठुलो पिडा विषयक बालबिवाह र पोषण सम्बन्धी नाटक, पोषण समबन्धी जनचेतनामूलक गीत र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

  • ९ चैत्र २०८२, सोमबार १७:४५ प्रकाशित

  • Nabintech