१०, चैत २०८२
बर्दिया । जिल्लाका २७ वटा विद्यालय तीनतारे स्तरमा पुगेका छन्। नेपाल सरकारले २०७४ सालमा लागू गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिअनुसार ती विद्यालयले आवश्यक मापदण्ड पूरा गरेका हुन्। तीमध्ये २१ विद्यालय औपचारिक रूपमा तीनतारे घोषणा भइसकेका छन् भने ६ विद्यालय घोषणा प्रक्रियामा रहेका छन्।
विद्यालय तहमा खानेपानी, सरसफाइ र स्वच्छता सुधार गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यविधि लागू गरिएको हो। मापदण्ड पूरा गर्ने विद्यालयलाई तीनतारे स्तरमा वर्गीकरण गरिन्छ।
कार्यविधि कार्यान्वयनका लागि जिल्लाका पाँच स्थानीय तहका ३३ विद्यालय छनोट गरिएकामा २७ विद्यालय तीनतारे र ६ विद्यालय दुईतारे स्तरमा पुगेका छन्। हाल बर्दियामा २७१ विद्यालय सञ्चालनमा रहेका छन्।
संघीय सरकारको कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गुलरिया, बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकाले स्थानीय कार्यविधि निर्माण गरी लागू गरेका छन्। साथै, शौचालय, खानेपानी र सरसफाइ संरचनाको दिगो व्यवस्थापनका लागि मर्मतसम्भार कोषसमेत स्थापना गरिएको छ।
बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूका अनुसार स्थानीय कार्यविधिअनुसार नियमित अनुगमन तथा मूल्याङ्कनपछि मापदण्ड पूरा गर्ने विद्यालयलाई तीनतारे घोषणा गरिन्छ। उनले नगरभित्रका सबै विद्यालयलाई क्रमशः तीनतारे स्तरमा पुर्याउने लक्ष्य रहेको बताए।
तीनतारे स्तर प्राप्त विद्यालयमा विद्यार्थी संख्याअनुसार सुरक्षित खानेपानी र पर्याप्त शौचालय, फोहोर व्यवस्थापन, साबुनपानीले हात धुने सुविधा, फूलबारी तथा करेसाबारी, दिवा खाजाको व्यवस्था लगायतका सुविधा सुनिश्चित गरिन्छ। साथै, सरसफाइ व्यवहार परिवर्तन, मर्मतसम्भार कोष, महिनावारी स्वच्छता सचेतना, आराम कक्ष र इन्सिनेटरसहितको शौचालय व्यवस्थापन पनि अनिवार्य गरिएको छ।
यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि वाटरएड नेपालको आर्थिक सहयोग, नेपाल प्रजनन स्वास्थ्य केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा ‘वास गेन्स’ परियोजना सञ्चालन गरिएको थियो। तीन वर्षदेखि सञ्चालनमा रहेको परियोजनामार्फत खानेपानी, शौचालय तथा सरसफाइ संरचना निर्माणसँगै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बेस बर्दियाका कार्यक्रम संयोजक जगदीश चौधरीले जानकारी दिए।
मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले परियोजनाले स्थानीय तहलाई कार्यान्वयनमा महत्वपूर्ण अनुभव प्रदान गरेको उल्लेख गर्दै प्राविधिक सहयोग अभावमा देखिएका चुनौती समाधानमा यसले ठुलो भूमिका खेलेको बताए।
त्यस्तै, गुलरिया नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत मुकुन्द अर्यालले परियोजनाबाट प्राप्त उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै तीनतारे स्तर कायम राख्नु चुनौतीपूर्ण भए पनि त्यसतर्फ नगरपालिका प्रतिबद्ध रहेको बताए।
‘वास गेन्स’ परियोजना सञ्चालन भएका पाँचवटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखहरूको उपस्थितिमा परियोजनाका उपलब्धि सार्वजनिक गर्दै अपनत्व हस्तान्तरणसमेत गरिएको छ।










