मकै खेतीतर्फ आकर्षित बन्दै डुडुवा किसान: वैदेशिक रोजगारीबाट फर्किएका युवामा गाउँमै सम्भावना खोज्ने लहर

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    २६, चैत २०८२
    बाँके ।बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीका किसानहरू पछिल्लो समय परम्परागत खेती प्रणालीबाट बाहिरिँदै नगदे बालीका रूपमा मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। बदलिँदो कृषि प्रविधि, छिटो उत्पादन, बजारको सहजता र राम्रो आम्दानीको सम्भावनाले किसानहरूलाई मकै खेतीतर्फ डोर्‍याएको हो। विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले गाउँमै भविष्य देख्न थालेपछि यहाँ कृषिमा नयाँ आशा पलाउन थालेको छ।


    डुडुवा गाउँपालिका–३ बनकट्टी लोतपुरका शनिराम मौर्या यसको ज्वलन्त उदाहरण हुनुहुन्छ। तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएका मौर्याले अपेक्षित आम्दानी गर्न नसकेपछि आफ्नै गाउँमा केही गर्ने अठोट लिनुभयो। सुरुमा चार कट्ठा जमिन लिजमा लिएर मकै खेती थालेका उहाँले पहिलो प्रयासमै करिब ३० हजार रुपैयाँ आम्दानी गर्नुभयो। यसले उहाँलाई थप हौसला दियो। अहिले उहाँले डेढ बिगाहा जमिन वार्षिक १ लाख ४० हजार रुपैयाँमा लिजमा लिएर करिब १ लाख रुपैयाँ लगानी गर्नुभएको छ। मकै सिजनमा करिब ५ लाख रुपैयाँ नाफा हुने अपेक्षासहित उहाँ अहिले पूर्णकालीन कृषकका रूपमा स्थापित हुँदै हुनुहुन्छ।
    “विदेशमा पसिना बगाउँदा पनि सोचेजस्तो आम्दानी भएन, अहिले आफ्नै गाउँमा मेहनत गर्दा आत्मसन्तुष्टि पनि छ र आम्दानी पनि,” मौर्या भन्नुहुन्छ, “सरकारले अलि सहयोग गरिदिए हामीजस्ता धेरै युवाले यहीँ रोजगारी सिर्जना गर्न सक्छौं।”


    यहाँका अन्य किसानहरू पनि मकै खेतीप्रति उत्साहित छन्। राममुरत मौर्या र लक्ष्मिराम मौर्याका अनुसार धान र गहुँको तुलनामा मकै खेती कम समयमा तयार हुने, लागत अपेक्षाकृत कम लाग्ने र उत्पादन राम्रो हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्। बनकट्टी–३ लोतपुरमा रहेका ३८ घरधुरीमध्ये करिब ३० घरधुरीले अहिले मकै खेतीलाई प्राथमिकता दिएका छन्।
    किसानहरूका अनुसार बजारको समस्या पनि खासै छैन। व्यापारीहरू सिधै खेतमै आएर मकै खरिद गर्ने गरेका छन्, जसले गर्दा ढुवानी र बजार खोज्ने झन्झट कम भएको छ। यसले किसानलाई उत्पादनमा अझ बढी ध्यान केन्द्रित गर्न सहज बनाएको छ।
    तर, केही चुनौतीहरू भने अझै कायम छन्। नेपालमा बिउ, मल र विषादीको मूल्य अत्यधिक महँगो भएकाले किसानहरू भारतबाट ल्याउन बाध्य छन्। यसले लागत बढाउने मात्र होइन, कहिलेकाहीँ गुणस्तरमा पनि समस्या आउने गरेको उनीहरूको गुनासो छ। “सरकारले समयमै सस्तो र गुणस्तरीय बिउ–मल उपलब्ध गराइदिए उत्पादन अझ बढाउन सकिन्छ,” किसानहरूको भनाइ छ।


    यस्तै, उचित बजार व्यवस्थापन, कृषि बीमा, सहुलियत ऋण र प्राविधिक सहयोगको अभावले किसानहरू पूर्ण रूपमा सुरक्षित महसुस गर्न सकेका छैनन्। कृषि क्षेत्रमा राज्यको लगानी र नीति कार्यान्वयन प्रभावकारी नभएसम्म किसानहरूको श्रमको उचित मूल्य सुनिश्चित हुन नसक्ने उनीहरूको ठहर छ।
    डुडुवा गाउँपालिकामा देखिएको मकै खेतीतर्फको यो आकर्षण केवल बाली परिवर्तन मात्र होइन, ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने सम्भावनाको संकेत पनि हो। यदि राज्यले समयमै किसानमुखी नीति ल्याएर उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिदिने हो भने यस्ता गाउँहरू आत्मनिर्भर कृषि केन्द्रका रूपमा विकास हुन सक्छन्।


    किसानको पसिना राष्ट्रको मेरुदण्ड हो भन्ने यथार्थलाई आत्मसात गर्दै उनीहरूको हक–हित संरक्षण, उचित मूल्यको सुनिश्चितता र आधुनिक कृषि प्रणालीमा पहुँच विस्तार गर्नु आजको आवश्यकता हो। कृषकलाई सम्मानजनक जीवनयापनको आधार तयार पार्न सके मात्र देशको समग्र आर्थिक समृद्धि सम्भव हुनेछ।

  • २६ चैत्र २०८२, बिहीबार ०९:०१ प्रकाशित

  • Nabintech