लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्षमा तेस्रोलिंगी वर्षा ठकुरी निर्वाचित

  • नमस्ते कर्णाली

  • बाँके ,२५ जेठ ।

    लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्षमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीबीटीआईक्यूए+) समुदायकी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित हुनुभएको छ। लुम्बिनी प्रदेशको भालुवाङमा सम्पन्न १२ जिल्लाका युवाहरूको सम्मेलनबाट ठकुरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
    निर्वाचनमा पुरुष र महिला उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै ठकुरी ३ मतको अन्तरले विजयी हुनुभएको थियो। निर्वाचित भएपछि उहाँले यस उपलब्धिलाई व्यक्तिगत जित वा हारको रूपमा नभई समावेशी नेतृत्व र सबै युवाहरूको साझा विजयका रूपमा लिनुपर्ने बताउनुभयो।
    फरक पहिचान समाज नेपाल र मायाको पहिचान नेपालमा सक्रिय रूपमा कार्यरत ठकुरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। सह-अध्यक्षमा आस्था बि.क. तथा सदस्यसचिवमा प्रियङ्का गिरी निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा समीक्षा पुन मगर, रुद्रमणि भुसाल, कविता बुढा, विष्णु बि.क., रवि बि.क., अमृत बि.क., आशिष शक्ति राज, रेजिना मिया, रमेश बड र समीक्षा बि.क. निर्वाचित भएका छन्।
    लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्ष पदमा पहिलो पटक तेस्रोलिंगी व्यक्ति निर्वाचित हुनुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले ऐतिहासिक तथा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसले समाजका सीमान्तकृत समुदायहरूको नेतृत्व क्षमता र लोकतान्त्रिक सहभागितालाई थप बलियो बनाएको विश्वास गरिएको छ।
    मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले संयुक्त रूपमा जारी गरेको प्रतिक्रियामा यो सफलता कुनै एक व्यक्तिको मात्र उपलब्धि नभई सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सामूहिक विजय भएको उल्लेख गरेका छन्। संस्थाहरूले लोकतन्त्रको वास्तविक अभ्यास भनेको समाजका सबै वर्ग, समुदाय र पहिचान भएका नागरिकहरूको अर्थपूर्ण तथा समावेशी सहभागिता सुनिश्चित गर्नु रहेको बताएका छन्।
    उनीहरूका अनुसार छोटो समयमै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधि सम्मानित नेतृत्वदायी भूमिकामा निर्वाचित हुनु गौरवको विषय हो। यस उपलब्धिले समावेशिता, समानता, सामाजिक न्याय र सशक्तीकरणका लागि सञ्चालन हुँदै आएका अभियानहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
    लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न सम्मेलनबाट भएको यो निर्वाचनले नागरिक समाजका संरचनाहरूमा विविधता र समावेशी प्रतिनिधित्वको अभ्यासलाई थप मजबुत बनाएको सरोकारवालाहरूले बताएका छन्। साथै, आगामी दिनमा समुदायको नेतृत्व विकास, प्रभावकारी हस्तक्षेप र व्यापक प्रतिनिधित्वका लागि थप सक्रियतापूर्वक काम गर्न यस सफलताले प्रेरणा दिएको मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालको भनाइ छ।

  • २५ जेष्ठ २०८३, सोमबार ०६:१९ प्रकाशित

  • Nabintech