२, बैशाख २०८३
बाँके। नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। अन्तराल र बासको संयुक्त आयोजनामा बिपी चोकमा सम्पन्न कार्यक्रममा राष्ट्रिय झण्डाको महत्व, गरिमा तथा यसको संरक्षणबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले राष्ट्रिय झण्डा राष्ट्रको पहिचान, स्वाभिमान र एकताको प्रतीक भएको उल्लेख गर्दै यसको सम्मान र संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएकोमा जोड दिएका थिए। साथै पछिल्लो समय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको उचित प्रयोग र संरक्षणमा सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगर, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्ष झलक गैरे, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, हरित अभियन्ता हेमन्तराज काफ्ले तथा कलेज अफ म्यानेजमेन्टकी क्याम्पस प्रमुख मुना हमाल चन्द लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले राष्ट्रिय झण्डा दिवस मनाउनुको उद्देश्यबारे प्रकाश पार्दै झण्डाको ऐतिहासिक महत्व, यसले बोकेको सन्देश तथा वर्तमान सन्दर्भमा यसको संरक्षणको आवश्यकताबारे धारणा राख्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले नागरिकमा देशप्रतिको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो भने समापन बासका अध्यक्ष शिवकुमार बर्माले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।










