कोहलपुर–१० र ११ मा अवस्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमिति तथा पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। हालै सम्पन्न निर्वाचनबाट नर बहादुर मल्लको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा सपथ ग्रहण गराइएको हो।

निर्वाचन समितिका संयोजक विष्णुकान्त आर्चायको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वन उपभोक्ताहरू, स्थानीय प्रतिनिधिहरू, वर्तमान सल्लाहकार, प्रेस सल्लाहकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

निर्वाचनको नतिजाअनुसार सरस्वती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नर बहादुर मल्ल, उपाध्यक्षमा रतन बहादुर बुढा, सचिवमा गीता उपाध्याय, सह–सचिवमा धन बहादुर पाण्डे, कोषाध्यक्षमा सबिता गिरी र सह–कोषाध्यक्षमा दीप बहादुर भारती निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा खगीसरा रोका खत्री, सन्तोष राज पौडेल, देविकन्या काफ्ले, कविलाल बस्नेत र देवी थारु चयन भएका छन्। नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई निर्वाचन संयोजक विष्णुकान्त आर्चायले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले वन क्षेत्रको जैविक विविधता संरक्षण, वनजन्य स्रोतको न्यायोचित वितरण तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने धारणा राखे।
सरस्वती सामुदायिक वन उपभोक्ता समूह यस क्षेत्रको महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा स्थापित छ। यस वनले स्थानीय समुदायलाई काठ, दाउरा, घाँस जस्ता आधारभूत आवश्यकताहरू उपलब्ध गराउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। पछिल्लो समय सामुदायिक वनहरूले पर्यावरण संरक्षणसँगै आयआर्जनका अवसर सिर्जना गर्ने माध्यमका रूपमा पनि पहिचान बनाएका छन्।

नवनिर्वाचित अध्यक्ष नर बहादुर मल्लले आफ्नो कार्यकालमा वनको संरक्षण र समुचित व्यवस्थापनलाई प्राथमिकतामा राख्दै उपभोक्ताहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पारदर्शिता, सहभागिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यसमिति अगाडि बढ्ने उल्लेख गर्नुभयो।
समग्रमा, सपथ ग्रहण कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले नयाँ नेतृत्वबाट सामुदायिक वनको थप सुदृढीकरण र स्थानीय विकासमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।











