एमयु र वीरेन्द्रनगर नगरपालिकाबीच शैक्षिक सम्झौता

  • नमस्ते कर्णाली

  • सुर्खेत, ११ बैशाख ।

    मध्यपश्चिम विश्वविद्यालय (एमयू) र वीरेन्द्रनगर नगरपालिकाबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ सञ्चालन गर्ने सम्बन्धमा बिहीबार एक औपचारिक सम्झौता सम्पन्न भएको छ । स्थानीय सरकार र शैक्षिक संस्थाबीचको यो सहकार्यले कर्णाली प्रदेशको उच्च शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

    विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले एक विशेष समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताको मुख्य उद्देश्य स्थानीय स्तरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षाको पहुँचमा ल्याउन एक स्थायी छात्रवृत्ति कोष (एन्डोमेन्ट फन्ड) को स्थापना र सञ्चालन गर्नु छ ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले उच्च शिक्षाको विकासमा स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहने बताइन । उनले भनिन, ‘वीरेन्द्रनगर प्रदेशको राजधानी मात्र नभएर शैक्षिक केन्द्र पनि हो । यहाँ अवस्थित विश्वविद्यालयको विकास र विद्यार्थीको हितका लागि नगर सरकारले आफ्नो दायित्व वहन गर्नुपर्छ भन्ने हेतुले हामीले यो कदम चालेका हौँ । यसले सबै क्षेत्र र वर्गका विद्यार्थीलाई समेटेर लैजाने हाम्रो लक्ष्यलाई मूर्त रूप दिनेछ ।’

    उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले आफ्नो कार्यकालमा विश्वविद्यालयलाई केवल शैक्षिक प्रमाणपत्र वितरण गर्ने थलो मात्र नबनाई समुदायको अभिन्न अङ्ग बनाउने योजना अघि सारे । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरूको उदाहरण प्रस्तुत गर्दै विश्वविद्यालयको स्थायी कोष निर्माणका लागि कार्यविधि पास गर्न आफूले विशेष पहल गरेको जानकारी दिए । डा. गौतमका अनुसार यस प्रकारको सहकार्यले विश्वविद्यालयको आर्थिक दिगोपना कायम गर्ने मात्र नभई शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत टेवा पुर्‍याउनेछ ।

    यो सम्झौतासँगै अब वीरेन्द्रनगर नगरपालिकाभित्रका योग्य विद्यार्थीहरूले छात्रवृत्तिका लागि स्थानीय सरकार र विश्वविद्यालयको संयुक्त कोषबाट सहयोग प्राप्त गर्नेछन् । यसले विशेषगरी आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको छ । अक्षयकोषको प्रभावकारी सञ्चालनका लागि दुवै पक्षले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । यो पहलले आगामी दिनमा अन्य स्थानीय तह र विश्वविद्यालयहरूका लागि पनि एउटा अनुकरणीय नमुना पेश गरेको छ ।

    यसअघि एमयु र वीरेन्द्रनगर बीच स्थानीय ज्ञान सीप प्रवद्र्धनदेखि वैकल्पिक ऊर्जा सुधारलगायत विषयमा सम्झौता भएको थियो । यी विषयहरुमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यले सम्झौता भएको जनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयको १५ औं वार्षिक उत्सवको अवसरमा सम्झौता थियो । नगरपालिका क्षेत्रभित्रको समग्र विकास निमार्णमा प्राज्ञिक सहयोग र विभिन्न कार्यक्रममा समन्वय एवं सहकार्य गरेर अघि बढ्ने उदेश्यले सम्झौता भएको जनाइएको छ ।

    यसअघिको समझदारी अनुसार नगरभित्रका विद्यालयहरुको शैक्षिक उन्नयन, नवप्रवर्तनमूलक सिकाई प्रवद्र्धन र सामाजिक अनुसन्धानमा विश्वविद्यालयले सहयोग गर्ने बताइएको छ । सम्झौता पत्रमा सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार र प्रकाशन, वैकल्पिक ऊर्जा र वातावरणीय सुधारका कार्यक्रम छन् ।

    विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठीलगायतका क्षमता विकासका कार्यक्रम र स्थानीय वस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको नगरप्रमुख मोहमाया ढकालले जानकारी दिइन् । स्थानीय स्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्दै आएको उनले बताइन् ।

    सम्झौता पत्रमा भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्यांक, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्तिलगायतका स्रोतहरूमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने तथा वर्गीकृत समुदायका लागि छात्रवृद्धि प्रदान गर्ने, स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवद्र्धन र स्थानीय महत्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरू समावेश छन् । दुवै निकायबीच भएको सहमति चार वर्षको छ । यसलाई थप नवीकरण गर्न सकिने पनि सम्झौतामा उल्लेख छ ।

  • ११ बैशाख २०८३, शुक्रबार १३:५७ प्रकाशित

  • Nabintech