सुर्खेत ,१२ बैशाख ।
नेपाल प्रहरीका संगठन प्रमुख दानबहादुर कार्कीले नवनिर्मित नेपाल पुलिस स्कूलको शैक्षिक र प्रशासनिक भवनको समुद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, मा ११ करोड लागतमा निर्मित सुविधासम्पन्न भवनको प्रहरी पर्मुख कार्कीले समुद्घाटन गरेका हुन् ।
२०७६ बाट पठनपाठन सुरु गरेको प्रहरी स्कुल भाडाको घरबाट सञ्चालन भइरहेको थियो । यस्तै, कार्कीले प्रदेश प्रहरी कार्यालय परिसरमा पाँच करोड ४४ लाख लागमा निर्मित सिनियर प्रहरी अधिकृत आवास गृहको समेत उद्घाटन गरेका छन् । यी दुवै भवन प्रहरीको आन्तरिक स्रोतबाट निर्मित भएका हुन् ।
प्रहरी स्कुलको भवन उद्घाटन गर्दै कार्कीले शिक्षालाई एउटा पर्खालभित्र पढाउने मात्र नभई अनुशासित र दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्ने बताए । शिक्षाले हरेक मान्छेलाई सफलताको बाटोमा अग्रसर गराउने उल्लेख गर्दै उनले जबसम्म असल र अनुशासित व्यक्ति जन्मदैन तबसम्म समाज अघि बढ्न नसक्ने बताए ।
सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले जनताको सेवा गरेको उल्लेख गर्दै उनले प्रहरी स्कूलले समुदायमा रुपान्तरणमा अग्रणी भुमिका खेल्नेमा विश्वास व्यक्त गरे । उनले पछिल्लो समय बढ्दै गएको लागुऔषध दुर्व्यसनी रोक्न प्रहरी स्कुलले समुदायस्तरमा नेतृत्वदायी भुमिका निभाउनुपर्नेमा जोड दिए ।
‘कर्णालीमा बाटो छोटो छ, तर लागुऔषधको दुर्व्यसनी लामो छ । हरेक क्षेत्रमा पछि पारिएको कर्णाली क्षेत्रमा किन लागुऔषधको गलत बाटो फैलदै गएको छ भन्ने विषयमा प्रहरी स्कुल र यसका अभिभावकहरुले अब सोच्ने बेला आएको छ,’ उनले भने । लागुऔषधको जालो तोड्न प्रहरीले मात्र नसक्ने भन्दै उनले यसमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।











