सुर्खेत, १२ बैशाख ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा शुक्रबारदेखि ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ सुरु भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले वैशाख ११–१३ गतेसम्म सम्मेलनको आयोजना गरेको हो ।
‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्युचर इन द एज अफ एआइ एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयासअनुरुप सम्मेलनको आयोजना गरिएको हो ।
विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञावलीका अनुसार कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दिगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्यालाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तरराष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरू गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन भएको छ ।
उनले भने, “सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसङ्ख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायत विषयअन्तर्गत ३४४ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछ ।
कार्यकारी निर्देशक डा ज्ञावलीका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, पाँच सयभन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति, विश्वस्तरीय वक्ता, उपकुलपतिहरूको राउन्ड टेबल, डायोस्परासम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् ।











