ठाकुरबाबामा १५ शैयाको अत्याधुनिक नगर अस्पताल सञ्चालन

  • नमस्ते कर्णाली

  • बर्दिया, १२ बैशाख ।

    बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको सुविधासम्पन्न नगर अस्पताल सञ्चालनमा आएको छ । नगरप्रमुख तिलकराम लम्सालले एक औपचारिक कार्यक्रमबीच अस्पतालको उद्घाटन गर्नुभएको हो ।

    करिब १२ करोड ८४ लाख रुपैयाँको लागतमा वडा नं. ३ नेउलापुरमा निर्माण गरिएको उक्त अस्पताल स्थानीयस्तरमै विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको हो । संघीय सरकारको “हरेक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल” निर्माण गर्ने योजना अनुसार वि.सं. २०७८ जेठबाट निर्माण सुरु गरिएको दुई तले भवन तीन वटा ब्लकमा फैलिएको छ । अस्पताल परिसरमा पार्किङ र क्यान्टिनको समेत व्यवस्था गरिएको छ ।

    अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा, बहिरंग तथा अन्तरंग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय प्रयोगशाला सेवा, भेन्टिलेटरसहित सर्पदंश उपचार, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार र आँखा उपचार सेवा सञ्चालन गरिनेछ ।

    उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख लम्सालले पुरानो संरचनाबाट सेवा दिँदा देखिएका समस्यालाई समाधान गर्न नयाँ भवनबाट व्यवस्थित र प्रभावकारी सेवा सुरु गरिएको बताए । साथै, विभिन्न स्थानमा सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत नगर अस्पतालमा एकीकृत गर्ने योजना रहेको जानकारी दिए ।

    नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले अस्पताललाई अझ व्यवस्थित र स्तरीय बनाउन नगरपालिका निरन्तर सक्रिय रहने बताए । अस्पतालको आम्दानी र खर्च नगरपालिकाकै मातहतमा रहने जनाउँदै उनले अब स्थानीयवासीले सुविधा सम्पन्न स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा पाउने विश्वास व्यक्त गरे ।

    ठाकुरबाबा नगर अस्पताल विकास समितिका अध्यक्ष चिरञ्जीवी योगीका अनुसार अस्पतालमा हाल तीन जना चिकित्सकसहित ४६ जना जनशक्ति कार्यरत छन् । निकट भविष्यमा एमडीजीपी चिकित्सकसहित थप विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए  साथै, स्वास्थ्य बिमा गरेका बिरामीलाई पनि सेवा प्रदान गरिँदै आएको छ भने प्रत्येक शनिबार विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

    हाल अस्पतालमा ठाकुरबाबा नगरपालिका र आसपासका क्षेत्रबाट दैनिक करिब २५० बिरामीले सेवा लिइरहेका छन् । अस्पताल व्यवस्थापनलाई पूर्णरूपमा व्यवस्थित गर्न केही समय लाग्ने बताइएको छ । साथै, अस्पताल आवतजावतका लागि निःशुल्क यातायात सेवा समेत उपलब्ध गराइएको छ ।

  • १२ बैशाख २०८३, शनिबार ०८:०७ प्रकाशित

  • Nabintech