बाँके ,१३ बैशाख।
नेपालगञ्जलाई ‘स्वादको सहर’ का रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिवल–२०२६’ शुक्रबारदेखि भव्य रूपमा सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक समारोहबीच फेस्टिवलको औपचारिक उद्घाटन गरेका छन् ।
नेपालगञ्जको वाटरपार्क क्षेत्रमा सुरु भएको तीनदिने फेस्टिवलले सहरको रात्रीकालीन जीवनमा नयाँ ऊर्जा थपेको छ । झिलिमिली बत्ती, सांगीतिक माहोल र विभिन्न परिकारका आकर्षक स्टलहरूले कार्यक्रम स्थललाई उत्साहपूर्ण बनाएका छन् । राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति तथा विविध सांस्कृतिक झलकहरूले दर्शकको ध्यान तानेका छन् ।
करिब एक करोड रुपैयाँको लगानीमा होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल एसोसिएसन नेपाल (हान) नेपालगञ्ज च्याप्टरको संयुक्त आयोजनामा फेस्टिवल सञ्चालन भइरहेको छ । आयोजकका अनुसार कार्यक्रमले स्थानीय उत्पादन, परिकार र आतिथ्य संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्जलाई स्वाद र आतिथ्यको केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकको सहभागिताले बाँकेसहित आसपासका जिल्लामा पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अन्य वक्ताहरूले पनि पर्यटनलाई आर्थिक समृद्धिको आधारका रूपमा प्रस्तुत गर्दै यसको विकासका लागि नीतिगत सहजीकरण आवश्यक रहेको औंल्याए । होटल एसोसिएसन नेपाल (हान) का केन्द्रीय अध्यक्ष विनायक शाहले नेपालगञ्जलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यहरूको ‘प्रवेशद्वार’का रूपमा विकास गर्न सकिने धारणा राखे ।
त्यसैगरी, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारीले ‘पर्यटनको सुरुवात स्वादबाट हुन्छ’ भन्ने मान्यतालाई जोड दिँदै यस्ता फेस्टिवलहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख गरे ।
फेस्टिवलमा ५५ वटा स्टलमार्फत विभिन्न प्रकारका खाना तथा पेय पदार्थ सहुलियत मूल्यमा उपलब्ध गराइएको छ । राती अबेरसम्म सञ्चालन हुने यस कार्यक्रमले नेपालगञ्जलाई स्वाद, संस्कृति र पर्यटनको संगमस्थलका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।










