बाँके, २२ बैशाख ।
नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि आक्रामक अभियान सुरु गरेको छ । केन्द्र प्रमुख संजय कुमार मिश्र आफैं फिल्डमा खटिँदै मिटर अनुगमनलाई तीव्र बनाएका छन् ।
सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गर्दै वितरण केन्द्रको टोली सिंचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमनमा सक्रिय रहेको छ । उक्त टोलीमा लेखा अधिकृत नन्दसिंह सिकर्मीको पनि सहभागिता रहेको छ ।
वितरण केन्द्रका अनुसार पछिल्ला महिनाहरूमा विद्युत आपूर्तिमा सुधार देखिएको छ । तीन महिनाभित्र पाँच नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेको दाबी गरिएको छ । यसका आधारमा गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने विश्वास केन्द्रले व्यक्त गरेको छ ।
बक्यौता असुलीमा कडाइ गर्दै पछिल्ला पाँच महिनामा पाँच हजारभन्दा बढी लाइन काटिएको छ । तीमध्ये चार हजार ग्राहकबाट करिब सात करोड रुपैयाँ असुल गरी पुनः सेवा सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।
अनुगमनका क्रममा जानकी गाउँपालिका–बेलभार क्षेत्रमा सिंचाइका लागि जडान गरिएका चारवटा मिटर अन्य प्रयोजनमा प्रयोग भइरहेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सिंचाइ मिटर दुरुपयोगको गुनासो बढेपछि अनुगमन गाउँस्तरमै केन्द्रित गरिएको केन्द्र प्रमुख मिश्रले जानकारी दिए ।
त्यसैबीच, नो–लाइट शाखामार्फत महत्वपूर्ण स्थानहरूमा नांगो तार हटाई केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले पनि नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाइएको जनाएको छ । प्राधिकरणको सक्रियतासँगै विद्युत चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ ।











