अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–१२, चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारूलाई उक्त आरोपमा नियन्त्रणमा लिइएको हो। उनले विभिन्न मिति र समयमा विविध कसूरमा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धानमा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोप छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले थारूलाई यसै आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका थारूविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।
यसैबीच प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र कसैले मुद्दा मिलाइदिने भन्दै प्रलोभन देखाएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।










