छतमाथिको जहाज : कर्णालीका अधुरा सपनाको उडान

  • नमस्ते कर्णाली

  • जुम्ला ,५ जेठ ।

    कर्णाली राजमार्ग हुँदै जुम्लाको तातोपानी गाउँपालिका–६ हियाँखोला पुग्ने यात्रु अचानक रोकिन्छन्। सडक छेउको एउटा घरले उनीहरूको ध्यान आफैँतिर तान्छ। तल सानो पसल, माथि भने नेपाली झण्डा अंकित जहाज। पहिलो नजरमा त्यो दृश्य अनौठो लाग्छ, दोस्रो नजरमा जिज्ञासा जगाउँछ, अनि तेस्रो नजरमा एउटा प्रश्न उब्जिन्छ—“घरको छतमाथि जहाज किन बनाइएको होला ?”
    तर, त्यो केवल सिमेन्ट, बालुवा, गिट्टी र सरियाले बनेको संरचना होइन। त्यो एउटा संघर्षशील जीवनको कथा हो। त्यो जहाज हो—टक्कबहादुर नेपाली (सार्की) का अधुरा सपना, नथाकेको प्रयास र कहिल्यै नमरेको आशाको प्रतीक।
    वि.सं. २०४० सालमा जुम्लाको लाम्रा गाउँ मा जन्मिएका टक्कबहादुर सानैदेखि सिर्जनशील स्वभावका थिए। गाउँका अन्य बालबालिका खेलकुदमा रमाइरहँदा उनी काठ र माटोबाट गाडी, हेलिकप्टर र प्लेन बनाउँथे। विज्ञान र आविष्कारप्रतिको मोह उनको बाल्यकालमै प्रस्ट देखिन्थ्यो।
    तर, त्यो रुचिले विद्यालयको नतिजामा साथ पाएन। पढाइमा खासै मन नलाग्ने उनी वि.सं. २०५८ सालको एसएलसी परीक्षामा अनुत्तीर्ण भए। दोस्रो प्रयासपछि मात्रै उनले परीक्षा पास गरे। समाजले उनलाई “कमजोर विद्यार्थी”को रूपमा हे¥यो, तर जीवनले भने उनीभित्रको फरक प्रतिभालाई विस्तारै आकार दिइरहेको थियो।
    घरको कमजोर आर्थिक अवस्थाले उनको उच्च शिक्षा पढ्ने सपना बीचमै रोकियो। जेठो छोरा भएकाले परिवारको जिम्मेवारी पनि चाँडै काँधमा आयो। त्यसबेला उनले एउटा कठोर यथार्थ बुझे—कर्णालीमा धेरै सपना क्षमता नभएर होइन, अभावका कारण मर्छन्।
    त्यसपछि उनी सीप सिक्न नेपालगञ्ज पुगे। हाउस वायरिङ तालिम लिए। त्यही क्रममा गाउँका हजारौं युवाजस्तै उनको मनमा पनि विदेश जाने सपना पलायो। “विदेश गए पैसा कमाइन्छ, जीवन बदलिन्छ” भन्ने आशाले उनलाई वि.सं. २०६२ सालमा मलेसिया पुर्‍यायो।


    तर, मलेसियाले उनलाई सुनौलो भविष्य होइन, कठोर यथार्थ दियो। गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा उनले प्रोडक्सन असिफरको काम गरे। मासिक ४ सय १० रिंगेट तलब, ओभरटाइम गर्दा कहिलेकाहीँ हजार रिंगेटसम्म पुग्थ्यो। तर त्यो कमाइभन्दा धेरै ठूलो थियो दुःख, थकान र मानसिक दबाब। साँघुरो कोठा, सम्झौताभन्दा फरक काम र निरन्तर श्रमले उनलाई भित्रैदेखि थकित बनायो।
    “त्यो जीवन मैले सोचेको जस्तो थिएन,” उनी सम्झन्छन्, “त्यहाँ मानिसभन्दा मेसिनको मूल्य बढी थियो।”
    एक वर्षमै उनी नेपाल फर्किए। विदेशले उनको हातमा धेरै पैसा राखेन, तर एउटा गहिरो चेतना दियो—“आफ्नो माटोमा पसिना बगाउनु विदेशको पीडाभन्दा ठूलो होइन।”
    नेपाल फर्किएपछि उनले शिक्षक बन्ने बाटो रोजे। सेतीबाडा निमावि मा विज्ञान पढाउन थाले। योग्यता एसएलसी मात्रै भएकाले उनी निजी कोटामा सामान्य शिक्षक बने। तर, उनी किताब घोकाएर पढाउने शिक्षक थिएनन्। विज्ञानलाई छुन, हेर्न र बनाउन सकिन्छ भन्ने विश्वास राख्थे।
    त्यही क्रममा उनले विद्युतीय भोटिङ मेसिन निर्माण गरे। गाउँमै बनेको त्यो मेसिनले जुम्लाभर चर्चा पायो। सञ्चारमाध्यममा समाचार बन्यो। तत्कालीन लाम्रा गाविसले १० हजार रुपैयाँसहित सम्मान गर्‍यो भने तत्कालीन जिल्ला विकास समितिले पनि उनको कामको प्रशंसा गर्‍यो।
    त्यसपछि उनी आफ्नो मेसिन बोकेर काठमाडौं पुगे। निर्वाचन आयोगले परीक्षणपछि मेसिन राम्रो रहेको प्रतिक्रिया दियो र उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान पठाइयो।
    तर, त्यहाँ पुगेपछि फेरि एउटा यथार्थले उनको बाटो रोक्यो। त्यो प्रविधिको पेटेन्ट भारतसँग रहेछ।
    “त्यो बेला मलाई यस्तो लाग्यो, मेरो सपना कसैले बीच बाटोमै खोसेर लगिदियो,” उनी सम्झिन्छन्।
    तर, टक्कबहादुर रोकिएनन्। त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा बसेर उनले अनेक प्रयोग जारी राखे। क्याप टोपीमै सोलार राखेर मोबाइल चार्ज हुने प्रणाली बनाए। साइकल चलाउँदा चार्ज हुने डायनामा बनाए। तर, ती उत्पादनले अपेक्षित सफलता पाएनन्।
    धेरै मानिस असफलतापछि सपना त्याग्छन्। तर, टक्कबहादुर असफलतालाई सिकाइ ठान्थे। त्यसपछि उनले अझ असम्भवजस्तो सपना देखे—उड्ने सपना।
    वि.सं. २०७४ सालमा उनले युट्युब हेरेर प्याराग्लाइडिङ बनाए। गाउँका धेरै मानिसले पत्याएनन्। कतिले हाँसे, कतिले “यो सम्भव छैन” पनि भने। तर, परीक्षण सफल भयो। त्यो दिन केवल एउटा मेसिन उडेन, उनको आत्मविश्वास पनि उड्यो।
    उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाए। विभिन्न निकायबाट झन्डै सात लाख रुपैयाँ पुरस्कार पाए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्रदान गर्‍यो।
    तर, फेरि उही कथा दोहोरियो। उनले व्यावसायिक उडान अनुमति पाएनन्। अहिले उनले बनाएको प्याराग्लाइडिङ घरमै थन्किएको छ—ठ्याक्कै कर्णालीका धेरै सपनाझैँ। जहाँ प्रतिभा हुन्छ, तर प्रणाली हुँदैन। जहाँ क्षमता हुन्छ, तर पहुँच हुँदैन। जहाँ सपना हुन्छ, तर राज्यको साथ हुँदैन।
    सायद त्यसैले अहिले उनले घरको छतमाथि जहाज बनाएका छन्। त्यो जहाज व्यवसाय होइन, एउटा प्रतीक हो। त्यो केवल घर चिनाउने चिन्ह होइन, उनको जीवनको घोषणापत्र हो।
    “म अझै सपना देखिरहेको छु,” उनी भन्छन्, “मानिसहरूले प्लेन भएको घर भनेर चिनून् भन्ने पनि हो। तर, यो मेरो कला हो, मेरो सपना हो।”
    आज त्यो घर कर्णाली राजमार्ग हुँदै यात्रा गर्नेहरूका लागि आकर्षणको केन्द्र बनेको छ। मानिसहरू त्यहाँ उभिएर फोटो खिच्छन्, टिकटक बनाउँछन्, भिडियो कैद गर्छन्। तर, कमैले बुझ्छन्—त्यो जहाज वास्तवमा उड्न नपाएका सपनाहरूको स्मारक हो।
    टक्कबहादुरसँग न ठूलो डिग्री छ, न आधुनिक प्रयोगशाला। न राज्यको बलियो साथ छ, न ठूलो लगानी। तर, उनीसँग एउटा अमूल्य पूँजी छ—जिद्दी मन। अभावसँग नझुकेको मन। असफलतासँग नथाकेको मन। र बारम्बार भाँचिएपछि पनि फेरि सपना देख्न सक्ने मन।
    कर्णालीमा धेरै मानिस गरिबीभित्र बाँचिरहेका छन्। तर, टक्कबहादुर नेपाली गरिबीभित्र पनि सम्भावना खोजिरहेका छन्। उनी अझै विश्वास गर्छन्—सपना देख्ने मानिसहरू हार्दैनन्, उनीहरू केवल उड्ने समय पर्खिरहेका हुन्छन्।

  • ५ जेष्ठ २०८३, मंगलवार १४:५५ प्रकाशित

  • Nabintech