नसर्ने रोग नियन्त्रणका लागि समुदायस्तरमै सचेतना अभियान आवश्यक : सरोकारवालाको जोड

  • नमस्ते कर्णाली

  • बाँके ,८ असार ।
    नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण गर्न समुदायस्तरमै व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
    उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका बिरामीको संख्या पछिल्लो समय बढ्दै गएपछि रोकथामका उपायबारे जनचेतना फैलाउने उद्देश्यले शुक्रबार बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरूले सामुदायिक सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
    राप्तीसोनारी गाउँपालिकाको सहयोग, साइविरियम प्रालिको प्राविधिक समन्वय तथा होप ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपालगञ्ज र उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. राजन पाण्डे र उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले सहजीकरण गर्नुभएको थियो।
    कार्यक्रममा डा. पाण्डेले नसर्ने रोगको प्रमुख कारण अस्वस्थकर खानपान, शारीरिक गतिविधिको कमी, धूम्रपान, मद्यपान तथा तनावपूर्ण जीवनशैली रहेको बताउनुभयो। यस्ता रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए पनि जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले समयमै सचेतना अपनाउन सके जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने उहाँको भनाइ थियो।
    उहाँले पछिल्लो तथ्याङ्कअनुसार सर्ने रोगको तुलनामा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुरोग तथा मानसिक स्वास्थ्य समस्याजस्ता रोगहरूको समयमै पहिचान, उपचार र रोकथामका लागि नियमित स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
    नसर्ने रोगबाट जोगिन गुलिया पदार्थ, सुर्तीजन्य वस्तु, मदिरा, अत्यधिक नुनिलो तथा चिल्लो खानेकुराको सेवन कम गर्नुपर्ने र दैनिक कम्तीमा आधा घण्टा शारीरिक व्यायाम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
    अधिवक्ता वसन्त गौतमले नसर्ने रोग रोकथामका लागि स्वास्थ्यकर्मी तथा सरोकारवालाको क्षमता अभिवृद्धि, सुर्तीजन्य पदार्थ र मदिराको प्रभावकारी नियमन, मानसिक स्वास्थ्यसम्बन्धी तालिम, नागरिक स्वास्थ्य कार्यक्रम तथा सचेतनामूलक अभियानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
    उहाँले नेपालमा कुपोषण, सूक्ष्म पोषक तत्वको कमी, अस्वस्थकर खानपान र बढ्दो मोटोपनाका कारण नसर्ने रोगको जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सरकारले विभिन्न नीति तथा कार्यक्रम ल्याए पनि प्रभावकारी कार्यान्वयन, अनुगमन तथा जनचेतनाको अभाव चुनौतीका रूपमा रहेको बताउनुभयो।
    राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले स्थानीय सरकारले नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य परीक्षण, स्क्रिनिङ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारको प्रयास मात्र पर्याप्त नहुने भएकाले नागरिक, नागरिक समाज, संघसंस्था, प्रदेश तथा संघीय सरकारलगायत सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
    गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ आहार, दैनिक व्यायाम तथा धूम्रपान–मद्यपान त्याग्न प्रेरित गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउँदै विद्यालय, स्थानीय तह र सामाजिक संघसंस्थासँगको सहकार्यमा स्वास्थ्य शिक्षा कार्यक्रमलाई समेत प्राथमिकता दिइएको जानकारी दिनुभयो।
    मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले नसर्ने रोगको उपचारभन्दा रोकथाम बढी प्रभावकारी र कम खर्चिलो हुने भएकाले समुदायस्तरमै सचेतना अभियान विस्तार गर्नुपर्ने बताउनुभयो। नियमित स्वास्थ्य परीक्षणले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुग्ने भएकाले प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।
    उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष सुरेश गौतमले पछिल्लो समय सञ्चालन गरिएका स्वास्थ्य सचेतना कार्यक्रमले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै स्वस्थ जीवनशैली अपनाउने बानीको विकास भए नसर्ने रोगबाट हुने मृत्यु तथा स्वास्थ्य जटिलता उल्लेखनीय रूपमा घटाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
    होप ट्रेनिङ एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजन गौतमले नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवालाको क्षमता अभिवृद्धि, पैरवी, अनुगमन तथा कानुनी विशेषज्ञताको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
    कार्यक्रममा सहभागी सरोकारवालाहरूले समुदायको सक्रिय सहभागिता, परिवारको सहयोग तथा सरकारी निकायको प्रभावकारी पहलबाट नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियानलाई थप सफल बनाउन सकिने धारणा व्यक्त गरेका थिए। उनीहरूले स्वस्थ समाज निर्माणका लागि प्रत्येक व्यक्तिले आफ्नो दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए।

  • ८ असार २०८३, सोमबार ०७:४२ प्रकाशित

  • Nabintech