नेपालगन्ज रंगशालाका खेलकुद संरचनाको निरीक्षण गर्दै मन्त्री यादव, विकास र संरक्षणमा पहल गर्ने प्रतिबद्धता

  • नमस्ते कर्णाली

  • बाँके ,९ असार ।
    लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले नेपालगन्जस्थित साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिअन्तर्गत रहेका खेलकुद पूर्वाधारहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि प्रदेश सरकारको चासो बढिरहेका बेला मन्त्री यादवले आज नेपालगन्ज रंगशाला परिसरका विभिन्न संरचनाको अवलोकन गर्नुभएको हो।
    निरीक्षणका क्रममा मन्त्री यादवले पौडी पोखरी, कभर्ड हल, सुटिङ रेन्जलगायत खेलकुद पूर्वाधारहरूको अवस्था, उपयोगिता तथा व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। उहाँले खेलकुद पूर्वाधारको संरक्षण र प्रभावकारी उपयोगमार्फत खेलाडी उत्पादन तथा खेलकुद गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
    अनुगमनका क्रममा समितिका कार्यालय प्रमुख महेश चन्दले खेलकुद संरचनाको वर्तमान अवस्था, संरक्षणका चुनौती तथा सम्भावनाबारे मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो। उहाँले पुराना संरचनाको मर्मत–सम्भार, व्यवस्थापन तथा आवश्यक स्रोत–साधन अभावका कारण खेलकुद गतिविधि प्रभावित हुने गरेको बताउनुभएको थियो।
    त्यसैगरी समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी (सोनु)ले स्थानीय तह, प्रदेश सरकार र खेलकुदसम्बद्ध निकायबीच प्रभावकारी समन्वयको अभावका कारण खेलकुद क्षेत्रले अपेक्षित गति लिन नसकेको धारणा व्यक्त गर्नुभयो। उहाँले खेलकुद विकासका लागि साझा योजना र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
    लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य नरेन्द्र थापाले खेलाडी उत्पादन तथा खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि प्रतिभा पहिचान अभियान सञ्चालन, नियमित प्रतियोगिता आयोजना तथा खेल सामग्री व्यवस्थापनमा प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रका समस्याको समाधानका लागि आवश्यक पहल गरिदिन मन्त्री यादवसँग आग्रहसमेत गर्नुभयो।
    कार्यक्रममा मन्त्री यादवले बाँके जिल्लाको खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आवश्यक स्रोत–साधन व्यवस्थापनका लागि आफ्नो संसदीय विकास कोषका साथै सम्बन्धित मन्त्रालय र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो।
    मन्त्री यादवले खेलकुद पूर्वाधारको संरक्षण मात्र नभई खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षणका अवसर विस्तार तथा नियमित खेल गतिविधिको प्रवर्द्धनमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले खेलकुद क्षेत्रलाई युवाको ऊर्जा, अनुशासन र राष्ट्रको गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै यसको दिगो विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

  • ९ असार २०८३, मंगलवार ०६:२३ प्रकाशित

  • Nabintech