जुम्लाका उत्कृष्ट स्याउ कृषक सम्मानित, व्यवसायिक खेतीले गाउँमै सिर्जना गर्‍यो समृद्धिको आधार

  • नमस्ते कर्णाली

  • जुम्ला ,१० असार ।

    कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै उत्पादन वृद्धि, व्यवसायिकता र नवप्रवर्तनमार्फत जिल्लाको कृषि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तीन जना कृषक सम्मानित भएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ तथा विशेष सम्मान प्रदान गर्दै कृषकहरूको योगदानको कदर गरेको हो।
    जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले आयोजित कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा दोसल्लासहित सम्मान प्रदान गरे। कार्यक्रममा बोल्दै प्रमुख आचार्यले कृषि क्षेत्रको विकास र आत्मनिर्भरताका लागि कृषकहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै यस्ता सम्मानले अन्य किसान तथा युवापुस्तालाई समेत कृषि पेशाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे।
    “कृषकहरूको मेहनत र लगनशीलताले जुम्लाको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ। यस्ता सम्मानले कृषि क्षेत्रमा थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गर्नेछन्,” उनले भने।
    जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै उत्कृष्ट उत्पादन र व्यवसायिक सफलताको उदाहरण प्रस्तुत गरेका कृषकहरूलाई मूल्याङ्कनका आधारमा छनोट गरी पुरस्कृत गरिएको हो।
    कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार हिमा गाउँपालिका–३ मोफ्ला गाउँस्थित कठायत एग्रो फर्मका सञ्चालक तथा स्याउ कृषक सार्की कठायत प्रथम उत्कृष्ट कृषक घोषित भएका छन्। विगत १५ वर्षदेखि व्यावसायिक स्याउ खेती गर्दै आएका कठायतसँग हाल ७ सय स्याउका बिरुवा रहेका छन्। १२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उनको बगैंचाबाट वार्षिक करिब ९ लाख ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ।
    यस्तै, चन्दननाथ नगरपालिका–८ तलिउम गाउँस्थित भवानी कृषि तथा एग्रो फर्मका सञ्चालक भैरवबहादुर धराला द्वितीय उत्कृष्ट कृषक बन्न सफल भएका छन्। १२ वर्षअघि सुरु गरिएको उनको स्याउ बगैंचामा हाल ४ सय ५० वटा बिरुवा रहेका छन्। ११ हजार २ सय ३० वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट उनले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। दुवै कृषकले स्थानीय जातका स्याउ उत्पादन गर्दै आएका छन्।
    पुरस्कारस्वरूप प्रथम हुने कठायतलाई नगद ३० हजार रुपैयाँ, प्रमाणपत्र तथा दोसल्ला प्रदान गरिएको छ भने द्वितीय हुने धरालालाई नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको छ।
    यसैबीच, गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटस्थित गुठीचौर एग्रो फर्मका सञ्चालक तथा राष्ट्रिय उत्कृष्ट कृषक टंक गिरी लाई पनि विशेष सम्मान गरिएको छ। केही समयअघि राष्ट्रिय स्तरमा उत्कृष्ट कृषकको उपाधि प्राप्त गरेका गिरीको सफलतालाई जुम्लाको कृषि क्षेत्रका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिइएको कृषि कार्यालयले जनाएको छ।
    गिरीलाई गत जेठमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित गरिएको थियो। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई नगद दुई लाख रुपैयाँ, मेडल, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेका थिए।
    २०७९ सालदेखि व्यवसायिक रूपमा सुरु गरिएको गिरीको स्याउ बगैंचामा रेड, गाला र फुजी जातका १५ हजार स्याउका बिरुवा रहेका छन्। करिब २२ हेक्टर क्षेत्रफलमा फैलिएको बगैंचाबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। स्थानीय स्तरबाट सुरु भएको उनको कृषि यात्राले राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ।
    कार्यालय प्रमुख अधिकारीका अनुसार कृषि पेशाप्रति युवाहरूलाई आकर्षित गर्ने, व्यवसायिक खेती विस्तार गर्ने तथा सफल कृषकका अनुभवलाई समुदायमा प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो। पुरस्कारका लागि पाँच जना कृषकको आवेदन परेकोमा विस्तृत मूल्याङ्कनपछि दुई जना उत्कृष्ट कृषक छनोट भएका थिए।
    जुम्लाको अर्थतन्त्रमा स्याउ खेतीको योगदान निरन्तर बढ्दै गएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जुम्लामा १७ हजार ५५८ दशमलव ७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ। यसमध्ये ५ हजार ५९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात हुँदा ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ आम्दानी भएको छ।
    गत आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ९ हजार ३३१ मेट्रिक टन स्याउ निर्यात भई ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।
    यस वर्ष जुम्लामा स्याउ खेतीको क्षेत्रफल ४ हजार ३२५ हेक्टरबाट बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र २ हजार हेक्टरबाट २ हजार १२५ हेक्टरमा विस्तार भएको छ भने स्याउ खेती गर्ने घरधुरी संख्या पनि वृद्धि हुँदै १९ हजार १५० पुगेको छ।
    कृषि विज्ञहरूका अनुसार जुम्लाका सफल कृषकहरूको उदाहरणले व्यवसायिक कृषि खेतीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। सम्मान तथा प्रोत्साहनका यस्ता कार्यक्रमले उत्पादन वृद्धि, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

  • १० असार २०८३, बुधबार १०:३९ प्रकाशित

  • Nabintech