खजुरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयद्वारा ११ महिनामा १ लाख ८५ हजार डोजभन्दा बढी वीर्य उत्पादन

  • नमस्ते कर्णाली

  • बाँके ,११ असार ।
    बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ महिनाको अवधिमा विभिन्न जातका राँगा, साँढे तथा बोकाबाट एक लाख ८५ हजारभन्दा बढी डोज जमेको वीर्य (सिमेन) उत्पादन गरेको छ।
    कार्यालयको ४७औँ फार्म दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालले प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयले हालसम्म कुल १ लाख ८५ हजार ७६ डोज जमेको वीर्य उत्पादन गरेको जानकारी दिनुभयो।
    उहाँका अनुसार जर्सी साँढेबाट २८ हजार ३०९ डोज, होलिस्टिनबाट ४४ हजार ९५६ डोज गरी कुल ७३ हजार २६५ डोज साँढेको वीर्य उत्पादन भएको छ। त्यसैगरी नेपालगञ्ज मुर्राबाट ८१ हजार १६० डोज, भारतीय मुर्राबाट २० हजार ५३४ डोज तथा गड्डी जातका राँगाबाट ४ हजार ५३७ डोज गरी एक लाख ६ हजार २३२ डोज राँगाको वीर्य उत्पादन गरिएको छ। साथै बोयर जातका बोकाबाट ५ हजार ५८० डोज वीर्य उत्पादन गरिएको कार्यालयले जनाएको छ।
    कार्यक्रममा बोल्दै डा. खनालले २०३६ सालमा भैँसी फार्म (बुल सेन्टर) का रूपमा स्थापना भएको कार्यालय विभिन्न चरणको विकासक्रम पार गर्दै ४७औँ वर्षमा प्रवेश गरेको बताउनुभयो। उहाँका अनुसार २०४२ सालमा पशु प्रजनन कार्यालयका रूपमा स्थापना भएको यो संस्था २०६० सालमा चरन तथा घाँसेबाली बीउ वृद्धि फार्ममा रूपान्तरण भएको थियो भने संघीयता कार्यान्वयनसँगै २०७५ सालदेखि राष्ट्रिय पशु प्रजनन कार्यालयका रूपमा सेवा प्रवाह गर्दै आएको छ।
    कार्यालयले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका २५ जिल्लामा सेवा प्रदान गरिरहेको छ। बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, पूर्वी रुकुमलगायत जिल्लामा कृत्रिम गर्भाधानका लागि आवश्यक जमेको वीर्य उत्पादन तथा वितरणसँगै विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन र वितरणको कार्यसमेत भइरहेको उहाँले जानकारी दिनुभयो। कार्यालयले प्राकृतिक गर्भाधान सेवा पनि सञ्चालन गर्दै आएको छ।
    पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीका अनुसार चालु आवको जेठ मसान्तसम्म कार्यालयबाट ६३ हजार २९७ डोज वीर्य वितरण गरिएको छ। जसमध्ये जर्सी जातको २५ हजार ३६६ डोज, होलिस्टिनको ९ हजार ५१७ डोज र साहीवाल जातको ९१३ डोज गरी ३७ हजार ९३६ डोज साँढेको वीर्य वितरण गरिएको छ।
    त्यसैगरी नेपालगञ्ज मुर्राको २९५ डोज र भारतीय मुर्राको २३ हजार ८५२ डोज गरी २४ हजार १४७ डोज राँगाको वीर्य वितरण गरिएको छ भने बोयर बोकाको १ हजार २१४ डोज वीर्य किसानसम्म पुगेको छ। यस अवधिमा विभिन्न जातका घाँसको ३० हजार ६३० केजी बीउ उत्पादन भएको पनि उहाँले जानकारी दिनुभयो।
    कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले तरल नाइट्रोजन, जमेको वीर्य, घाँसको बीउ तथा बिरुवा बिक्री तथा अन्य प्रशासनिक सेवामार्फत कार्यालयले चालु आवको ११ महिनामा ७३ लाख ७७ हजार ७३० रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो।
    उहाँका अनुसार यही अवधिमा ४९ हजार ५८७ पशुचौपायामा कृत्रिम गर्भाधान गरिएको छ। जसमध्ये २८ हजार ५८८ गाई, २० हजार ५२६ भैँसी र ४७३ बाख्रामा कृत्रिम गर्भाधान गरिएको हो।
    कृत्रिम गर्भाधानका लागि आवश्यक वीर्य उत्पादन गर्न कार्यालयमा हाल १२ वटा मुर्रा राँगा, ८ वटा साँढे, ६ वटा बोका तथा २ वटा बाख्रा राखिएका छन्। प्राकृतिक गर्भाधान सेवाका लागि ३ वटा राँगा, २ वटा साँढे, एक बोका र एक बाख्रा व्यवस्थापन गरिएको छ। चालु आवको ११ महिनामा प्राकृतिक गर्भाधानमार्फत १५५ गाई, ४८४ भैँसी र ११ बाख्रा गरी कुल ६५० पशुचौपायालाई सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख गणेश पुनले कार्यालयले नश्ल सुधार, कृत्रिम गर्भाधान तथा पशु आहारका लागि आवश्यक घाँसको बीउ उत्पादनमार्फत पश्चिम नेपालका किसानलाई महत्वपूर्ण सेवा प्रदान गरिरहेको बताउनुभयो।
    खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले नेपालमा रहेका तीन वटा राष्ट्रिय पशु प्रजनन कार्यालयमध्ये एक आफ्नो पालिकाभित्र हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले पशुपालन क्षेत्रको विकास र किसानको उत्पादनशीलता वृद्धि गर्न कार्यालयले महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो।
    त्यस्तै खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम वलीले स्थानीय सरकार र कार्यालयबीच थप समन्वय तथा सहकार्य भए किसानले अझ प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी रमेशबहादुर खत्री, वेनबहादुर खत्री र मालती अहिरलाई सम्मान गरिएको थियो। साथै कृत्रिम गर्भाधान अभिलेख व्यवस्थापन तथा उत्कृष्ट प्रतिवेदन तयारी गरेबापत कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकाको पशु सेवा शाखालाई पनि सम्मान गरिएको थियो।
    पशुधनको नश्ल सुधार, कृत्रिम गर्भाधान सेवाको विस्तार तथा घाँसेबाली उत्पादनमार्फत राष्ट्रिय पशु प्रजनन कार्यालयले पश्चिम नेपालका किसानको आयवृद्धि र पशुपालन व्यवसायको आधुनिकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सरोकारवालाले बताएका छन्।

  • ११ असार २०८३, बिहीबार ०८:४० प्रकाशित

  • Nabintech