बादी समुदायका अझै ५ प्रतिशत महिला यौन शोषणमा, विभेद अन्त्यका लागि साझा प्रयास आवश्यक

  • नमस्ते कर्णाली

  • बाँके ,१३ असार ।
    बादी समुदायका करिब ५ प्रतिशत महिला अझै पनि यौन शोषणको जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय बादी सञ्जालका अध्यक्ष केशव वादी (नेपाली) ले पछिल्लो सर्वेक्षणअनुसार ३०० जना बादी महिलामध्ये १४ जना अर्थात् करिब ५ प्रतिशत महिला यौन शोषणमा रहेको जानकारी दिनुभएको हो।
    सामुदायिक सशक्तीकरण तथा रूपान्तरण (कमिट) नेपालद्वारा बिहीबार नेपालगन्जमा आयोजित ‘बादी समुदायमा मानव बेचबिखन तथा यौन शोषण रोकथामका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै उहाँले यस्तो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो।
    अध्यक्ष वादीले बादी समुदायमा शिक्षा, चेतना र सशक्तीकरणको अवस्था क्रमशः सुधार हुँदै गए पनि समाजको दृष्टिकोणमा अपेक्षित सकारात्मक परिवर्तन आउन नसकेको बताउनुभयो। उहाँले विभेद, पूर्वाग्रह र सामाजिक बहिष्करण अन्त्य गर्न राज्य, स्थानीय तह, नागरिक समाज तथा सञ्चार क्षेत्रको साझा पहल अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बादी समुदायलाई सम्मानपूर्ण जीवनयापन, गुणस्तरीय शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिलाउन सबै तहका निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
    उहाँले मानव बेचबिखन तथा यौन शोषणजस्ता सामाजिक अपराध नियन्त्रणका लागि समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, समुदायका महिला तथा युवाको सशक्तीकरणबाट मात्रै दीर्घकालीन सामाजिक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, कोहलपुर नगरपालिका–१३ का वडा अध्यक्ष डम्बरबहादुर खड्का, वडा नं. १२ की वडा सदस्य पानसरा बाठा, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी तथा गैरसरकारी संस्था महासङ्घ बाँकेका कार्यवाहक अध्यक्ष मन भण्डारीलगायत वक्ताहरूले बादी समुदायमाथि हुने विभेद, मानव बेचबिखन तथा यौन शोषण अन्त्यका लागि सबै पक्ष संवेदनशील, उत्तरदायी र प्रतिबद्ध बन्नुपर्नेमा जोड दिनुभयो।
    कमिट नेपालका महासचिव प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू रामु चिडिमार, जीवन गिरी, मोहनलाल सोनखर, रेखा नेपाली, निर्मला नेपालीलगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन कमिट नेपालका कार्यक्रम संयोजक सुरज खड्काले गर्नुभएको थियो।

  • १३ असार २०८३, शनिबार १४:२१ प्रकाशित

  • Nabintech