वेस्टर्न ई.मी. सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै शनिबार भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, लक्ष्य निर्धारण तथा भविष्य निर्माणका विषयमा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूलाई अबिर लगाई तथा खादा ओढाएर औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा सांस्कृतिक झल्को दिने विभिन्न आकर्षक नृत्य प्रस्तुत गरिएका थिए, जसले समारोहलाई थप उल्लासमय बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुशुम रानाभाटले विद्यार्थी जीवन नै भविष्य निर्माणको सबैभन्दा महत्वपूर्ण चरण भएकाले स्पष्ट लक्ष्य, अनुशासन र निरन्तर मेहनतलाई जीवनको आधार बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “आजको अभिमुखीकरण केवल स्वागत कार्यक्रम मात्र होइन, सफल भविष्यतर्फको पहिलो पाइला हो। समयको सही सदुपयोग गर्दै ज्ञान, सीप र नैतिकताको विकासमा ध्यान दिन सके विद्यार्थीले जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्छन्।”

कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक कुबेर बस्नेतले वेस्टर्न ई.मी. सेकेन्डरी स्कुलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमता र व्यवहारिक सीप विकासलाई प्राथमिकतामा राखेर शिक्षण गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थी र अभिभावकले विद्यालयमाथि गरेको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै मेहनती र जिम्मेवार विद्यार्थी नै विद्यालयको वास्तविक पहिचान हुने उल्लेख गर्नुभयो।
विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले कक्षा ११ बाट विद्यार्थीको शैक्षिक यात्रा थप चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण हुने बताउँदै नियमित अध्ययन, सकारात्मक सोच र शिक्षकको मार्गदर्शनलाई आत्मसात् गर्न आग्रह गर्नुभयो। विद्यालयले विद्यार्थीको शैक्षिक उत्कृष्टतासँगै सर्वाङ्गीण विकासका लागि आवश्यक सबै वातावरण उपलब्ध गराउने उहाँको भनाइ थियो।

क्याम्पस प्रमुख राजु ढकालले उच्च शिक्षाको तयारीको आधार नै कक्षा ११ र १२ भएकाले विद्यार्थीले सुरुदेखि नै लक्ष्यअनुसार अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालय र कलेज परिवार विद्यार्थीको सफलताका लागि सदैव सहयात्री रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वेस्टर्न कलेज अफ बिजनेस स्टडिजकी संस्थापक सुजता बस्नेत लगायत अन्य अतिथिहरूले पनि विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको शुभकामना दिँदै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गर्नुभएको थियो।
विद्यार्थी सिर्जना जैसी र शिखा खत्रीले संयुक्त रूपमा सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवप्रवेशी विद्यार्थीलाई आत्मीय वातावरणमा स्वागत गर्दै सम्पन्न गरिएको अभिमुखीकरण कार्यक्रमले उनीहरूमा विद्यालयप्रति अपनत्व, आत्मविश्वास र आगामी शैक्षिक यात्राप्रति उत्साह थपेको सहभागीहरूले बताएका छन्।










