बर्दियामा धान रोपाइँ संकटमा: वर्षा अभावले ८२ प्रतिशत खेत बाँझै, हातेपम्पसमेत सुक्न थाले

  • नमस्ते कर्णाली

  • बाँके ,१५ असार ।
    मनसुनी वर्षा ढिलो हुँदा बर्दियामा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। असारको मध्यसम्म आइपुग्दा जिल्लामा कुल १८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। तीमध्ये अधिकांश रोपाइँ कर्णाली नदीको सिँचाइ सुविधा पुगेका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा मात्र भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाले जनाएको छ।
    कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले ठाकुरबाबा नगरपालिकाका केही स्थानबाहेक जिल्लाका अन्य छ स्थानीय तहमा पर्याप्त रोपाइँ हुन नसकेको बताउनुभयो। १५ असारमा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भइरहेका बेला जिल्लाको झण्डै ८२ प्रतिशत धानखेत अझै बाँझै रहेको छ।
    वर्षा नहुँदा जिल्लाको पूर्वी क्षेत्रमा जमिन अत्यधिक सुख्खा बनेको छ। लामो समयदेखि पानी नपरेका कारण हातेपम्पसमेत सुक्न थालेका छन् भने बबईलगायतका नदी तथा खोलामा पानीको सतह घटेपछि सिँचाइ अभावमा रोपाइँ प्रभावित भएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो।
    उहाँले तीन साताअघिसम्म ४०–५० फिट गहिराइमा पानी आउने हातेपम्पमा अहिले ११० फिटसम्म खन्दा पनि पानी ननिस्किएको जानकारी दिनुभयो। पानीको अभावका कारण सिँचाइ गर्न नसकिएकाले किसानले धान रोप्न नपाएको उहाँको भनाइ छ।
    बासगढी नगरपालिकाको उत्तरी क्षेत्र र बढैयाताल गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीका धारा समेत सुकेको स्थानीयले बताएका छन्। बढैयाताल–४ का किसान भुवनेश्वर थारुले दुई सातादेखि हातेपम्पबाट पानी आउन छाडेकाले धानको ब्याडसमेत राख्न नसकिएको गुनासो गर्नुभयो।
    बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले पनि लामो समयदेखिको खडेरीका कारण रोपाइँ हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विशेषगरी वडा नं. २ र ४ मा दुई सातादेखि हातेपम्प सुक्दा स्थानीयलाई खानेपानीको समेत समस्या भएको छ।
    आकाशे पानीको भरमा बग्ने बबई नदीमा समेत पानीको सतह निकै घटेको छ। पानी अभावका कारण पूर्वी र पश्चिम मूल नहरसमेत सुकेका छन्।
    बबई सिँचाइ आयोजनाका प्रमुख गोपाल शर्माले १२ असारसम्म बबई नदीमा प्रतिक्षण ४ क्युमेक्स पानी मात्र बगेको जानकारी दिँदै पर्याप्त सिँचाइका लागि कम्तीमा ४० क्युमेक्स पानी आवश्यक पर्ने बताउनुभयो। बबईको पानी पर्याप्त नभएकाले अहिले किसान आकाशे पानीकै भर पर्न बाध्य भएको उहाँले बताउनुभयो।
    उहाँले भेरी–बबई डाइभर्सन निर्माण सम्पन्न नभएसम्म जिल्लामा पर्याप्त सिँचाइ सुविधा उपलब्ध गराउन कठिन हुने उल्लेख गर्नुभयो। भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले आवश्यक बजेट प्राप्त भए आयोजनाको काम दुई वर्षभित्र सम्पन्न गर्न सकिने बताउनुभयो।
    यस्तै सूचना अधिकारी चौधरीले खडेरीका कारण जिल्लाको पश्चिमी क्षेत्रमा पनि धानको ब्याड सुक्न थालेको जानकारी दिनुभयो। उहाँका अनुसार ब्याड राखेको २८ दिन नाघेपछि रोपाइँ गर्दा उत्पादनमा उल्लेख्य कमी आउने गर्दछ। अहिलेको अवस्था यथावत् रहे धान उत्पादन १५ देखि २० प्रतिशतसम्म घट्न सक्ने उहाँले चेतावनी दिनुभयो।
    [

  • १५ असार २०८३, सोमबार १८:०७ प्रकाशित

  • Nabintech