साना तथा मझौला उद्यम सहायता कक्ष उद्घाटन

  • नमस्ते कर्णाली

  • सुर्खेत, २७ असार ।

    साना तथा मझौला उद्यम सहायता कक्ष (एसएमई सहायता कक्ष) तथा एकल सेवा केन्द्रको शुक्रबार एक कार्यक्रमवीच उद्घाटन गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको लागत साझेदारीमा उद्घाटन गरिएको हो ।

    सहायता कक्षमार्फत उद्यमी तथा व्यवसायीहरूलाई उद्योग तथा व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण, अनलाइनमार्फत आवेदन भर्ने सेवा, स्थानीय, प्रदेश तथा संघीय सरकारले लिने कर सम्बन्धी परामर्श, व्यवसायिक साक्षरता अभिवृद्धि, उद्यमशीलता प्रवद्र्धन तथा तीव्र विकास कार्यक्रम सञ्चालन तथा नवीन व्यावसायिक अवधारणाहरूलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन तथा संरक्षण (इन्क्युबेसन) गरिने जानकारी दिइएको छ ।

    एकल सेवा केन्द्रमार्फत स्थायी लेखा नम्बर (प्यान) दर्ता सहजीकरण, कर विवरण तथा लेखापरीक्षण सम्बन्धी सेवा, निःशुल्क कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न अनुदानदाता निकायका लागि आर्थिक तथा परियोजना प्रस्ताव तयार गर्ने सेवा, साथै भारत लगायत तेस्रो मुलुकमा स्थानीय रूपमा उत्पादित वस्तु निर्यातका लागि आवश्यक उत्पत्तिको प्रमाणपत्र प्राप्त गर्न सहजीकरण लगायतका सम्पूर्ण सेवा एकै स्थानबाट निःशुल्क उपलब्ध गराइने भएको छ ।

    उत्पादकत्व अभिवृद्धिका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग सम्बन्धी तालिममा सहभागीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी तयार गरेका भिडियोहरू प्रदर्शन गरिएको थियो । साथै, नवस्थापित साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्रमार्फत प्रदान गरिने सेवा, उद्देश्य तथा आगामी गतिविधिबारे विस्तृत जानकारी गराइएको थियो ।

    सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी) बाट सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको हो ।

    नगर प्रमुख ढकाल (भण्डारी) ले निजी क्षेत्रबाट सञ्चालन गरिएको यस्तो पहल अत्यन्त प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमहरूले व्यवसायीहरूलाई एउटै स्थानबाट सहज रूपमा सेवा प्राप्त हुने विश्वास व्यक्त गरिन । उनले उद्योग वाणिज्य संघले व्यवसायीहरूको हितका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्दै यस अभियानलाई निरन्तरता दिन वीरेन्द्रनगर नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाइन ।

    कार्यक्रमको समापन गर्दै आयोजकले साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्रमार्फत उद्यमी तथा व्यवसायीहरूलाई आवश्यक सरकारी तथा गैरसरकारी सेवा, व्यवसाय विकास परामर्श, दर्ता तथा कर सम्बन्धी सहजीकरण, परियोजना निर्माण, निर्यात सहजीकरण लगायतका सेवा एकै स्थानबाट निःशुल्क उपलब्ध गराई स्थानीय उद्यमशीलता, रोजगारी सिर्जना तथा आर्थिक विकासलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरेको छ ।

  • २७ असार २०८३, शनिबार १६:४१ प्रकाशित

  • Nabintech