सुर्खेत, २७ असार ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीका लागि काठमाडौं सपना पूरा गर्ने सहर थिएन, जिम्मेवारी बोक्ने सहर थियो । गाउँमा बिरामी आमा, वृद्ध बुबा, श्रीमती, तीन वर्षीया छोरीको भविष्य उनको काँधमा थियो ।
त्यसैले उनले आफ्नो सपना भन्दा पहिले परिवारको आवश्यकता रोजे । तर, परिवारको जीवन धान्न संघर्ष गरिरहेका गणेशको यात्रा शुक्रबार उपचारकै क्रममा टुंगियो । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
गणेशकी आमा सौरी दमाइ लामो समयदेखि दम रोगबाट पीडित छन् । उपचारका लागि उनी काठमाडौंमै बस्दै आएकी थिइन् । महिनैपिच्छे अस्पताल धाउनुपर्ने, औषधी किन्नुपर्ने र उपचार खर्च जुटाउनुपर्ने बाध्यता थियो । घरमा नियमित आम्दानीको स्रोत थिएन ।
त्यसैले आमाको उपचारदेखि घरखर्चसम्मको जिम्मेवारी गणेशले एक्लैले उठाएका थिए । गणेशका दाई नाता पर्ने पत्रकार अंगराज परियारका अनुसार उनी एसएलसीपछि कृषि जेटीए अध्ययन गरेका थिए । सरकारी जागिर खाने सपना बोकेर लोकसेवा आयोगको तयारी गर्न उनी पाँच वर्षअघि काठमाण्डौं पसेका थिए । तर, पटक–पटकको प्रयास सफल हुन सकेन । अन्ततः उनले रोजगारीको अर्को बाटो रोजे ।
काठमाडौंमा उनले ‘पठाओ’ चलाउन थाले । सुरुमा पुरानो मोटरसाइकल चलाए । पछि आम्दानी बढाउने आशामा गाउँको जग्गा धितो राखेर ऋण निकाले र नयाँ मोटरसाइकल किने । परियारका अनुसार त्यो मोटरसाइकल किन्नु विलासिताका लागि होइन, घरको चुल्हो बलिरहोस् भनेर गरिएको निर्णय थियो । ‘आमाको उपचार गर्नैपर्थ्यो । घर पनि चलाउनुपर्थ्यो । ऋण गरेर भए पनि बाइक किनेका थिए,’ उनले भने । करिब दुई वर्षदेखि पठाओ चलाइरहेका गणेशको कमाइमै परिवार टिकेको थियो । दाई मदनले लोकसेवाको तयारी गरिरहेका थिए । खर्च अभाव हुँदा दाईलाई पनि सहयोग गर्ने उनी नै थिए ।
गाउँमा वृद्ध बुबा चिने दमाई एक्लै छन् । गणेशका एक दिदी, एक बहिन र एक दाई छन् । दिदी र बहिनीको विहे भइसकेको छ । काठमाडौंमा भने गणेश आफ्नी श्रीमती, तीन वर्षीया छोरी र बिरामी आमासँग बस्दै आएका थिए । उनको परिवार भक्तपुरको कमलविनायकमा बस्दै आएको छ । गणेशको अर्को सपना पनि तयार हुँदै थियो । वैदेशिक रोजगारीका लागि दुबई जाने प्रक्रिया अघि बढिरहेको थियो । परिवारको आर्थिक अवस्था सुधार्ने आशा त्यही थियो । तर, त्यो सपना पूरा हुन नपाउँदै सबै समाप्त भएको छ । परिवारका अनुसार उनी पहिले पनि ट्राफिक जरिवानामा परेका थिए । पछिल्लो घटनामा महानगर प्रहरीसँग भएको विवादपछि उनी मानसिक रूपमा निकै विचलित बनेको हुन सक्ने परिवारको बुझाइ छ ।
गणेशको मृत्युले एउटा परिवारको भरपर्दो सहारा मात्रै खोसेको छैन, धेरै प्रश्न पनि छाडेको छ । बिरामी आमाको उपचार अब कसले गर्ने ? तीन वर्षीया छोरीको भविष्य कसले बनाउने ? गाउँमा रहेका वृद्ध बुबाको सहारा को बन्ने ? यी प्रश्नको जवाफ अहिले कसैसँग छैन । गणेश नेपाली अब छैनन् । तर, उनको जीवनले नेपालको कुरूप यथार्थ उजागर गरेर गएको छ—जागिरको खोजीमा असफल भएपछि ऋण गरेर रोजगारी सिर्जना गर्न बाध्य हुने युवा, बिरामी अभिभावकको उपचारका लागि दिनरात संघर्ष गर्ने छोरा, परिवारको भविष्यका लागि विदेश जाने सपना देख्ने पिता र जिम्मेवारीको भारीले थिचिएको एउटा सामान्य नेपालीले आफ्नै देशमा बाँच्नका लागि पनि राज्यसँग याचना गर्नुपर्ने बाध्यता ।









