बाँके ,३० कार्तिक ।
कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्दै आम्दानीको दिगो स्रोत खोजिरहेका बाँके र बर्दियाका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित हुन थालेका छन् । उन्नत जातका गाईपालन गरी दूध उत्पादनलाई मुख्य आम्दानीको माध्यम बनाउने किसानको सङ्ख्या बढ्दै गएको छ । पशुपालनबाट नियमित आम्दानी हुन थालेपछि किसानले गाईको सङ्ख्या थप्दै व्यवसाय विस्तार गर्न थालेका छन् ।
परम्परागत खेतीपातीसँगै पशुपालनलाई पनि आम्दानीको भरपर्दो आधार बनाउन सकिने भएपछि बाँके र बर्दियाका विभिन्न स्थानमा व्यावसायिक गाईपालन फस्टाउँदै गएको छ । विशेषगरी जर्सी जातका गाईपालनमा किसानको आकर्षण बढेको छ । गाईको सङ्ख्या र दूध उत्पादनमा वृद्धि हुन थालेसँगै यसले ग्रामीण अर्थतन्त्र र स्थानीय रोजगारीमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ मैनापोखरका किसान ज्ञानेन्द्र लम्साल व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले गत वर्ष मात्रै ४६ हजार लिटर दूध बिक्री गर्नुभएको थियो । यस वर्ष दुहुना गाईको सङ्ख्या बढेकाले दूध उत्पादनसमेत वृद्धि हुने अपेक्षा गर्नुभएको छ ।
३१ वटा जर्सी गाई पाल्दै आउनुभएका लम्सालका १५ वटा गाई दुहुना छन् । उहाँका अनुसार एउटा गाईले दैनिक कम्तीमा १० लिटर दूध दिने गरेको छ । असोजदेखि फागुनसम्म दूध उत्पादनको मुख्य सिजन हुने गरेको छ । यस अवधिमा दैनिक करिब २२० लिटर दूध उत्पादन हुने गरेको छ भने अफसिजनमा उत्पादन घटेर करिब १२० लिटरमा सीमित हुने गरेको छ ।
रेडियो नेपालसँग कुरा गर्दै लम्सालले दुहुना गाईको सङ्ख्या बढेसँगै दूध उत्पादन पनि बढेको बताउनुभयो । व्यावसायिक गाईपालनलाई व्यवस्थित बनाउन सके किसानका लागि नियमित आम्दानीको राम्रो आधार बन्न सक्ने उहाँको भनाइ छ ।
बाँकेको कोहलपुर नगरपालिका–११ चप्परगौडीका किसान छविलाल भट्टराईले पनि व्यावसायिक रूपमा गाईपालन गर्दै आउनुभएको छ । उहाँको गोठमा ४६ वटा गाई छन् । तीमध्ये १० वटा दुहुना र २० वटा गाई गाभिनो अवस्थामा छन् । अहिले दैनिक करिब ७० लिटर दूध उत्पादन हुँदै आएको उहाँ बताउनुहुन्छ । गाभिनो गाई ब्याएपछि दूध उत्पादन बढेर सिजनमा दैनिक १५० लिटरसम्म पुग्ने उहाँको अपेक्षा छ ।
त्यसैगरी, कोहलपुर नगरपालिका–८ पिपरीका थलबहादुर खड्काले ३२ वटा गाई पाल्नुभएको छ । तीमध्ये १३ वटा दुहुना छन् । उहाँले अहिले दैनिक करिब १०० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । दूध उत्पादनको मुख्य सिजनमा दैनिक १३० देखि १५० लिटरसम्म उत्पादन हुने गरेको खड्का बताउनुहुन्छ । वर्षभरको औसत उत्पादन दैनिक करिब १२० लिटर रहने उहाँको भनाइ छ ।
चप्परगौडीकै किसान शारदा शर्मा पनि लामो समयदेखि गाईपालनमा संलग्न हुनुहुन्छ । उहाँसँग १२ वटा गाई छन् । तीमध्ये तीनवटा दुहुना र पाँचवटा गाभिनो छन् । कात्तिक–मङ्सिरमा गाभिनो गाई ब्याएपछि दूध उत्पादन बढ्ने उहाँको अपेक्षा छ ।
बर्दियाको बाँसगढीका किसान गोविन्द उपाध्यायले ४० वटा गाई पाल्नुभएको छ । तीमध्ये १२ वटा दुहुना छन् । उहाँका अनुसार अहिले दैनिक ११५ लिटर दूध उत्पादन भइरहेको छ भने दूध उत्पादनको मुख्य सिजनमा दैनिक १७० लिटरसम्म पुग्ने गरेको छ । उहाँका ११ वटा बाछी हुर्किंदै छन्, जसमध्ये छवटा गाभिनो अवस्थामा छन् । यसले आगामी दिनमा दूध उत्पादन थप बढ्ने अपेक्षा गरिएको उहाँ बताउनुहुन्छ ।
यस्तै, बढैयाताल गाउँपालिका–७ मैनापोखरकी किसान मनीषासिंह थारू पनि व्यावसायिक गाईपालनमा सक्रिय हुनुहुन्छ । उहाँसँग २० वटा गाई छन् । तीमध्ये १० वटा दुहुना र पाँचवटा गाभिनो छन् । अहिले दैनिक करिब १०० लिटर दूध उत्पादन हुँदै आएको उहाँ बताउनुहुन्छ । अफसिजनमा उत्पादन केही घट्ने भए पनि मुख्य सिजनमा दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने गरेको थारूको भनाइ छ ।
बाँके र बर्दियाका यी किसानका अनुभवले व्यावसायिक गाईपालनबाट दूध उत्पादनसँगै नियमित आम्दानीको सम्भावना बढ्दै गएको देखाउँछन् । विशेषगरी दुहुना गाईको सङ्ख्या विस्तार, उन्नत जातको प्रयोग र बजारमा दूधको मागले किसानलाई पशुपालनमा थप लगानी गर्न प्रेरित गरेको छ ।
तर, व्यावसायिक गाईपालनलाई दिगो र नाफामूलक बनाउन नियमित पशु स्वास्थ्य सेवा, गुणस्तरीय दाना तथा घाँसको उपलब्धता, प्रजनन व्यवस्थापन, खोप र रोग नियन्त्रणमा ध्यान दिन आवश्यक छ । त्यस्तै, दूधको उचित मूल्य, सहज बजारीकरण, चिस्यान केन्द्रको व्यवस्था र पशुपालक किसानलाई सहुलियतपूर्ण ऋण तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके यस क्षेत्रको सम्भावना अझ विस्तार हुन सक्छ ।
स्थानीयस्तरमै दूध उत्पादन बढाउन सके बाहिरी क्षेत्रबाट हुने दूधको आपूर्ति घटाउनुका साथै स्थानीय बजारको मागसमेत पूरा गर्न सकिनेछ । व्यावसायिक गाईपालनलाई योजनाबद्ध रूपमा विस्तार गर्दै किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन सके बाँके र बर्दियामा पशुपालन आत्मनिर्भरता, रोजगारी र ग्रामीण समृद्धिको बलियो आधार बन्न सक्ने देखिन्छ ।









