“जब नागरिकले आशा गुमाउँछ: दुई घटनाले उठाएका असहज प्रश्नहरू”

  • नमस्ते कर्णाली

  • बिमल आचार्य
    दुई दिन। दुई पुरुष। दुई परिवारको संसार सधैंका लागि बदलियो।
    सरकारी सेवा लिन गएको ठाउँमा विवादपछि सार्वजनिक स्थानमा आफूलाई आगो लगाउने प्रयास र त्यसपछि उपचारका क्रममा गणेश नेपालीको अवसान भयो । अर्को घटना शिक्षक विवेक मण्डलसँग सम्बन्धित हो। बिबेक आज मृतु सय्यामा छटपटाई रहेका छन् । यी घटनाले देशभर गहिरो दुःख, आक्रोश र अनेक प्रश्न जन्माएका छन्। तर, यसलाई केवल व्यक्तिगत निर्णय वा क्षणिक आवेगका रूपमा हेरेर हामी आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनौं।
    म यो विषय केवल तथ्याङ्क, अनुसन्धान वा पेशागत अनुभवका आधारमा मात्र लेखिरहेको छैन। म एउटा मनोसामाजिक कार्यकर्ता हुँ, जसले धेरै वर्षदेखि मानसिक तनाव, आघात र आत्महत्याको जोखिम न्यूनीकरणमा काम गरिरहेको छ। तर, त्यसभन्दा पनि बढी, म आफैं जीवनको एउटा अत्यन्त अन्धकारमय मोडबाट फर्किएको व्यक्ति हुँ। बाहिरबाट काम गरिरहेको, हाँसिरहेको देखिए पनि भित्रभित्रै निरन्तर तनाव, आत्मदोष र भविष्यप्रतिको निराशाले मलाई यसरी थिचेको थियो, कुनै समाधान देखिँदैनथ्यो। यही अनुभवका आधारमा म दृढताका साथ भन्न सक्छु गहिरो मानसिक संकटमा पुगेको मानिसलाई बाहिरबाट हेरेर मात्र कहिल्यै बुझ्न सकिँदैन।
    विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मानसिक स्वास्थ्य समस्या विश्वभर बढ्दो सार्वजनिक स्वास्थ्य चुनौती हो र १५–२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको प्रमुख कारणहरूमध्ये एक हो। नेपाल प्रहरीको वार्षिक अभिलेखले पनि नेपालमा हरेक वर्ष हजारौं मानिसले आत्महत्याका कारण ज्यान गुमाइरहेको चिन्ताजनक तथ्याङ्क देखाउँछ।
    तर, तथ्याङ्क केवल सङ्ख्या मात्र होइन; प्रत्येक सङ्ख्याको पछाडि एउटा परिवार, अधुरा सपना, र समुदायको जीवित कथा जोडिएको हुन्छ। आज नेपाल गहिरो सामाजिक र आर्थिक संक्रमणको चरणमा छ । परिवर्तनको हुटहुटीले नेपाल ग्रसित छ । परिवर्तन एउटा प्रक्रिया हो ।
    स्वदेशमा अवसरको कमीले युवाहरू पलायन हुन बाध्य छन्। बढ्दो महँगी, ऋणको भार, व्यवसायको अनिश्चितता र कृषि उत्पादनको घट्दो प्रतिफलले लाखौं नागरिकलाई निरन्तर मानसिक दबाबमा राखेको छ। असफलताको कलंक र सार्वजनिक अपमानको डरले मानिसहरू आफूलाई झन् एक्लो महसुस गरिरहेका छन् ।
    समाजमा एउटा ठूलो भ्रम छ आत्महत्याको बारेमा सोच्ने मानिस मर्न चाहन्छ। तर, मनोविज्ञान र मेरो आफ्नै भोगाइले भन्छ मानिस मृत्यु होइन, आफ्नो असह्य मानसिक पीडाको अन्त्य खोजिरहेको हुन्छ। जहाँ आशा हराउँछ, त्यहाँ जोखिम बढ्छ। मानसिक पीडाको कुनै एक्स–रे वा रगत परीक्षण हुँदैन, तर यसको असर शारीरिक घाउ जत्तिकै गम्भीर र घातक हुन्छ।
    नेपालमा मानसिक स्वास्थ्यबारे अझै पनि मौनताको संस्कृति छ। शारीरिक रोग लाग्दा अस्पताल जान लाज लाग्दैन, तर मानसिक पीडाका लागि परामर्श लिन धेरैलाई डर लाग्छ। परिवार र समाजले प्रायः “बलियो बन”, “यति कुरामा किन तनाव?” जस्ता ओठे जवाफ दिन्छन्, जसले पीडित व्यक्तिलाई सहयोग खोज्न होइन, आफ्नो पीडा लुकाउन सिकाउँछ र झन् एक्लो बनाउँछ।
    यसका साथै, हाम्रो उपचार र सेवा प्रणालीमा पनि ठूला खाडलहरू छन् । मनोचिकित्सक, क्लिनिकल मनोवैज्ञानिक र मनोसामाजिक परामर्शदाताहरूको संख्या आवश्यकताभन्दा निकै कम छ र तीमध्ये अधिकांश काठमाडौं वा ठूला सहरमा मात्र केन्द्रित छन्। ग्रामीण क्षेत्रका नागरिकका लागि यो सेवा अझै टाढाको विषय हो। नागरिकले सबैभन्दा बढी न्याय र सुरक्षाको आशा गर्ने प्रहरी र सार्वजनिक प्रशासन जस्ता संस्थाहरूमा संकट व्यवस्थापन सीपको अभाव छ। तनाव वा मानसिक संकटमा रहेका व्यक्तिसँग व्यवहार गर्दा परिस्थिति थप जटिल नबनोस् भन्नका लागि विश्वका धेरै देशमा धेरै प्रकारका अभ्यास भईरहेको छ । नेपालमा पनि तत्काल यस्ता मोडेलको आवश्यक भइसकेको छ। आत्महानिका प्रयास वा दुर्घटनाका कारण गम्भीर जलन भएका बिरामीको उपचारका लागि प्रदेशस्तरमा सुदृढ बर्न उपचार केन्द्र, सघन उपचार, पुनःनिर्माण शल्यक्रिया र दीर्घकालीन पुनःस्थापना सेवाको ठूलो अभाव छ, जसले परिवारलाई आर्थिक र मानसिक रूपमा क्षति पुराउने छ ।
    यदि हामीले यी दुःखद घटनाहरूबाट केही सिकेनौं भने प्रत्येक सामाजिक सञ्जालको संवेदना केही दिनमै बिलाएर जानेछ र हामी अर्को घटनाको प्रतीक्षा गरिरहेका हुनेछौं। अब हामीले प्रणाली र व्यवहार दुवैमा आमूल परिवर्तन गर्नु आवश्यक छ।
    मानसिक स्वास्थ्यलाई विकासको विषय होइन, जीवनरक्षाको विषयका रूपमा हेरिनुपर्छ। स्थानीय सरकारले स्वास्थ्य चौकी र सामुदायिक केन्द्रहरूमा आधारभूत मनोसामाजिक परामर्श सेवा विस्तार गर्नुपर्छ। महिला स्वास्थ्य स्वयंसेविका र शिक्षकहरूलाई प्रारम्भिक संकेत चिन्न सक्ने तालिम दिनुपर्छ। सञ्चारमाध्यमले दुःखद घटनालाई सनसनीपूर्ण वा नाटकीय बनाउनुको साटो मानसिक स्वास्थ्य, सहयोगका उपाय र उपलब्ध हटलाइन सेवाबारे जानकारी दिएर रोकथाममा भूमिका खेल्नुपर्छ। हामीले मानिसको सफलता मात्र होइन, उसको संघर्ष पनि देख्न सिक्नुपर्छ। “तिमी किन यस्तो कमजोर भयौ?” भन्नुको साटो “तिमीलाई अहिले के गाह्रो भइरहेको छ?” भनी सुनिदिने मात्र हो भने पनि ठूलो राहत मिल्छ।
    म आफ्नो जीवनलाई फर्केर हेर्दा स्पष्ट देख्छु म बाँचेँ किनभने कुनै चमत्कार भएको थिएन। म बाँचेँ किनभने केही मानिसहरूले मलाई त्यो अन्धकारमा एक्लै छोडेनन्, मैले सही समयमा उपचार र परामर्श पाएँ। समय लाग्यो, तर मैले पुनः बाँच्न, काम गर्न र सम्बन्धहरू निर्माण गर्न सिकेँ।
    यदि तपाईं अहिले गहिरो मानसिक पीडामा हुनुहुन्छ र संसार अर्थहीन देखिरहनुभएको छ भने, कृपया यो कुरा सम्झनुहोस् तपाईंको जीवन महत्त्वपूर्ण छ। अहिलेको अवस्था जतिसुकै कठिन लागे पनि, यो स्थायी होइन; सहयोग उपलब्ध छ र परिस्थिति परिवर्तन हुन सक्छ। विश्वासिलो साथी, परिवार वा मनोसामाजिक परामर्शदातासँग कुरा गर्नुहोस्। कुनै पनि राष्ट्रको वास्तविक विकास केवल आर्थिक वृद्धिदर वा भवनले मापन हुँदैन। विकासको वास्तविक मापन त्यतिबेला हुन्छ, जब समाजको सबैभन्दा पीडामा रहेको नागरिकले पनि राज्य र समाजबाट आफूलाई सुरक्षित, सम्मानित र सुनिएको महसुस गर्छ। जीवन बचाउने काम अस्पतालबाट मात्र होइन, हामीले एकअर्काको पीडालाई धैर्यपूर्वक सुन्ने क्षणबाट सुरु हुन्छ।

  • २८ असार २०८३, आईतवार १३:०० प्रकाशित

  • Nabintech