मुगु पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

  • सनत हमाल

  • मुगु- मुगु जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका चारवटै स्थानीय तहले राष्ट्रिय खोप तालिकामा समावेश भएका सम्पूर्ण खोप लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण रूपमा प्रदान गरेको सुनिश्चित गरेपछि आइतबार एक कार्यक्रमका बिच जिल्ला स्तरमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

    “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित घोषणा सभामा जिल्लाका सरकारी निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिक दल, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी, अभिभावक, उद्योगी–व्यापारी, नागरिक समाज तथा अन्य सरोकारवालाले सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

    पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको राष्ट्रिय निर्देशिकाअनुसार जिल्लाका सबै पालिकामा राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप लक्षित समूहका बालबालिकाले प्राप्त गरेको पुष्टि भएपछि जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ। साथै आगामी दिनमा पनि स्थानीय तहको अपनत्व, स्वामित्व र साझेदारीमा पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै यसको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको छ।

    घोषणा सभामा मुगु जिल्ला समन्वय समितिका प्रमुख एवम जिल्ला खोप समन्वय समिति अध्यक्ष मन्जन  बहादुर कार्किले पूर्णखोप सुनिश्चितता स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपना कायम राख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताए।

    कार्यक्रममा जिल्ला खोप सुपरभाइजर निरीक्षक महेश बुढाले पूर्णखोप सुनिश्चितता घोषणा अन्तिम लक्ष्य नभई दिगोपनाको सुरुआत भएको बताए। उनले भने, “घोषणापछि पनि प्रत्येक नवजात तथा लक्षित उमेर समूहका बालबालिकालाई समयमै नियमित खोप उपलब्ध गराउनु नै हाम्रो मुख्य जिम्मेवारी हो। स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर सहयोगले मात्र पूर्णखोपको अवस्था दिगो बनाउन सकिन्छ।”

    मुगुका चारवटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेसँगै जिल्लालाई पनि औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

  • २८ असार २०८३, आईतवार २१:४८ प्रकाशित

  • Nabintech