बबई नदीको कटानले गुलरियाका पाँच गाउँ उच्च जोखिममा, हरेक वर्ष स्थानीय त्रासमा

  • नमस्ते कर्णाली

  • बर्दिया,५ साउन ।
    लगातारको वर्षापछि बबई नदीमा जलस्तर बढेसँगै बर्दियाको गुलरिया नगरपालिका–१० अन्तर्गतका रत्नापुर, झगरुपुर, रंगीपुर, नयाँपुर र महजदिया गाउँ उच्च जोखिममा परेका छन्। नदीको बहाव घटेपछि तीव्र रूपमा बढ्ने कटानले स्थानीय बासिन्दा र किसानलाई हरेक वर्ष सास्ती दिँदै आएको छ।
    स्थानीयका अनुसार बबई नदीले दक्षिणतर्फबाट धार परिवर्तन गर्दै कटान बढाइरहेको छ। यसले बस्तीसँगै खेतीयोग्य जमिन पनि जोखिममा पारेको छ। ठूलो बाढी आएमा पाँचवटै गाउँ डुबान र कटानको चपेटामा पर्ने खतरा रहेको उनीहरूको भनाइ छ।
    रत्नापुरका किसान दीपक चौधरीले नेपाल–भारत दशगजा क्षेत्र नजिक तटबन्ध निर्माणका क्रममा भारतीय पक्षको अवरोध भएपछि काम अधुरै रहँदा नदीको कटान झन् बढेको बताउनुभयो। सम्बन्धित निकायले तत्काल स्थायी तटबन्ध निर्माण नगरे ठूलो क्षति हुन सक्ने उहाँको भनाइ छ।
    स्थानीयका अनुसार साबिक बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयले निर्माण गरेका दक्षिणतर्फका तटबन्धसमेत अहिले कटानको जोखिममा छन्। यस क्षेत्रमा थप तटबन्ध निर्माण गर्ने योजना रहेकै बेला गत वर्ष साउन १ गते कार्यालय डडेलधुरा स्थानान्तरण गरिएपछि काम प्रभावित भएको स्थानीयको गुनासो छ।
    हाल उक्त क्षेत्रको जिम्मेवारी सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर) ले हेर्दै आएको छ। आयोजना प्रमुख सुदिन मुक्तानले बबई नदीको कटानबारे औपचारिक जानकारी प्राप्त नभएको जनाउनुभयो। अब टोलीसहित स्थलगत अनुगमन गरी आवश्यक रोकथामका उपाय अघि बढाइने उहाँले बताउनुभयो। धेरै स्थानीयलाई अहिले पनि सम्पर्क कार्यालय राजापुरबाट काम भइरहेको जानकारी नभएकाले समस्या समयमै सम्बन्धित निकायसम्म नपुगेको उहाँको भनाइ छ।
    स्थानीय किसान जगदीश लोधका अनुसार विगत सात वर्षमा नदी कटानका कारण ४० बिघाभन्दा बढी खेतीयोग्य जमिन बगिसकेको छ। वर्षेनी कटान बढ्दै जाँदा किसानको जीविकोपार्जन नै संकटमा पर्दै गएको उहाँले बताउनुभयो।
    स्थानीय रघुवीर मल्लाहले वर्षायाम अझै असोजसम्म रहने भएकाले खेत कटानको त्रास कायम रहेको भन्नुभयो। बबई, भादा, ओराही नदी व्यवस्थापन आयोजनाको काम पूरा नहुँदै कार्यालय अन्यत्र सार्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै उहाँले तटबन्ध निर्माणमा भएको ढिलाइले स्थानीय थप जोखिममा परेको बताउनुभयो।
    नेपाल–भारत सीमासँग जोडिएको यस क्षेत्रमा धान, गहुँ, तोरी, मकै र तरकारी मुख्य बालीका रूपमा उत्पादन हुँदै आएको छ। तर नदी कटानले उब्जाउ जमिन नै बगाउन थालेपछि किसान चिन्तित बनेका छन्। स्थानीयले दीर्घकालीन समाधानका लागि स्थायी तटबन्ध निर्माण गर्न वर्षौंदेखि माग गर्दै आएका छन्।
    स्थानीयका अनुसार पाँच वर्षअघि पनि बबई नदीले धार परिवर्तन गर्दा नेपाल–भारत सीमामा रहेका तीनवटा सीमा स्तम्भ बगाएको थियो। यस वर्ष अहिलेसम्म ठूलो बाढी नआए पनि २०७१ र २०७४ सालजस्तै बाढी आए रंगीपुर, रत्नापुरलगायतका गाउँमा ठूलो धनजनको क्षति हुन सक्ने स्थानीय नरेश गोडियाले बताउनुभयो।
    हरेक वर्ष दोहोरिने बाढी र कटानको समस्याले स्थानीयवासी त्रसित बनेका छन्। सम्बन्धित निकायले समयमै तटबन्ध निर्माण तथा नदी नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन नगरे आगामी वर्षायाममा पाँचवटै गाउँ थप जोखिममा पर्ने स्थानीयको चेतावनी छ।

  • ५ श्रावण २०८३, मंगलवार ०९:३५ प्रकाशित

  • Nabintech