एमाले सच्चिन थालेको हो? विद्यार्थीको हातबाट सूर्य ढकालको पुस्तक विमोचन

  • नमस्ते कर्णाली

  • बाँके ,२४ साउन ।
    लामो भाषण, घण्टौँसम्मको आसनग्रहण र हरेक कार्यक्रममा शीर्ष नेताबाट उद्घाटन तथा विमोचन गराउने परम्परागत शैलीभन्दा फरक ढंगले नेकपा एमालेले कोहलपुरमा एउटा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको शैलीमा देखिएको यो परिवर्तनले एमालेभित्र कार्यक्रम सञ्चालनको संस्कृतिमाथि नयाँ ढंगले सोच्न थालिएको संकेत गरेको छ।
    नेकपा एमाले जिल्ला शिक्षा तथा मानव स्रोत विभाग, बाँकेको आयोजनामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद सूर्य ढकालद्वारा लिखित ‘विचार, संघर्ष र रूपान्तरण’ पुस्तकको विमोचन कोहलपुरमा उत्कृष्ट विद्यालयका उत्कृष्ट विद्यार्थीहरूको हातबाट गरिएको हो।
    सामान्यतः राजनीतिक दलका कार्यक्रममा पार्टीका शीर्ष नेता वा विशिष्ट व्यक्तिबाट पुस्तक विमोचन गराउने प्रचलन रहँदै आएकोमा यसपटक भने उत्कृष्ट १० विद्यार्थीलाई विमोचनको जिम्मेवारी दिइएको थियो। यसलाई कार्यक्रममा सहभागीहरूले नयाँ पुस्तालाई विचार र राजनीतिक बहससँग जोड्ने सकारात्मक प्रयासका रूपमा लिएका छन्।
    कार्यक्रम निर्धारित समयमै सुरु भएर तोकिएकै समयमा सम्पन्न भएको थियो। लामो भाषण र औपचारिकताभन्दा विद्यार्थी, पुस्तक र विचारलाई केन्द्रमा राखिएको कार्यक्रमको शैलीको उपस्थितहरूले प्रशंसा गरेका थिए।
    कार्यक्रमको अध्यक्षता सूर्य रोकायले गर्नुभएको थियो। सञ्चालन खेमराज शर्माले गर्नुभएको कार्यक्रममा कुलबहादुर भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो। एकराज शर्मा, इच्छा घर्ती र अपिल लम्सालले पुस्तकका विषयवस्तु तथा त्यसमा समेटिएका विचारमाथि प्रकाश पार्नुभएको थियो।
    पुस्तकका लेखक सूर्य ढकालले ‘विचार, संघर्ष र रूपान्तरण’ प्रकाशनको उद्देश्य, पुस्तकमा समेटिएका विषयवस्तु तथा त्यसको सान्दर्भिकताबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि पुस्तक तथा समसामयिक विषयमा आफ्ना विचार र अनुभव प्रस्तुत गरेका थिए।
    ढकालका अनुसार वि.सं. २०८३ भदौ २३ र २४ गते भएका घटनापछि देशभित्र र बाहिर विकसित राजनीतिक, सामाजिक तथा वैचारिक परिस्थितिलाई नजिकबाट नियाल्ने क्रममा आफूले विभिन्न समयमा लेख, टिप्पणी र विश्लेषणमार्फत आफ्ना अनुभूति, चिन्ता र निष्कर्षहरू सार्वजनिक गर्नुभएको थियो। पत्रपत्रिका, अनलाइन माध्यम तथा सामाजिक बहसमा प्रकाशित ती सामग्रीलाई पाठक, साथी तथा शुभेच्छुकको सुझावअनुसार संग्रहका रूपमा पुस्तकको रूप दिइएको हो।
    पुस्तकमा ‘समृद्धि बाँकेको साझा एजेन्डा’, ‘कम्युनिस्ट आन्दोलनको रक्षा र विकास’, ‘राष्ट्रियता र लोकतन्त्र’, ‘विश्व मजदुर आन्दोलन र समाजवादी चेतनाको विकास’, ‘कानुन निर्माणको प्रक्रिया र अध्यादेश’, ‘नेपालको जियोपोलिटिक्स’, ‘युवाहरूको अवस्था, चुनौती र सम्भावना’, ‘राजनीतिक बहस’ तथा ‘केपी ओली विकास र राष्ट्रियता’ लगायत ३३ वटा शीर्षक समावेश छन्।
    पुस्तकले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, जनजीविका, समाजवाद, इतिहास, वैचारिक संघर्ष, आर्थिक संकट, भू–राजनीति र समकालीन नेपाली राजनीतिका विभिन्न आयाममाथि लेखकका धारणा र विश्लेषण प्रस्तुत गरेको छ।
    लेखक ढकालले पुस्तकमा समेटिएका विचारलाई कुनै अन्तिम सत्य नभई बहस र विमर्शको आधारका रूपमा लिन आग्रह गर्नुभएको छ। घटनाक्रमअनुसार लेखिएका सामग्रीमा तत्कालीन परिस्थिति, जनभावना र वैचारिक संघर्षको प्रभाव स्वाभाविक रूपमा देखिने उहाँको भनाइ छ।
    विशेषगरी भदौ २३ र २४ गतेका घटनापछि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका विषय ओझेलमा पर्न सक्ने, राजनीतिक अस्थिरता बढ्न सक्ने तथा आर्थिक, सामाजिक र कानुनी क्षेत्रमा समेत अस्थिरता गहिरिन सक्ने चिन्ता पुस्तकका विभिन्न लेखमा व्यक्त गरिएको छ। समाजमा अराजकता, दण्डहीनता र अविश्वास बढे राष्ट्र कमजोर हुन सक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्नेमा पुस्तकले जोड दिएको छ।
    ढकालले इतिहासलाई वर्तमान बुझ्ने र भविष्यको बाटो पहिल्याउने महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभएको छ। समाज र राजनीति निरन्तर परिवर्तनशील हुने भएकाले कुनै पनि विचारलाई समय, परिस्थिति र चेतनाको विकाससँग जोडेर हेर्नुपर्ने उहाँको धारणा छ।
    यसैबीच, पुस्तक विमोचनमा विद्यार्थीलाई अगाडि सारिएको विषयले कार्यक्रमभन्दा बाहिर पनि चर्चा पाएको छ। राजनीतिक दलका कार्यक्रममा प्रायः ठूला नेता, भाषण र औपचारिकतालाई प्राथमिकता दिइने गरेको आलोचनाबीच एमालेको शिक्षा तथा मानव स्रोत विभागले गरेको यो अभ्यासलाई नयाँ पुस्तालाई केन्द्रमा राख्ने प्रयासका रूपमा हेरिएको छ।
    राजनीतिक दलका कार्यक्रम केवल भाषण र औपचारिकतामा सीमित नरही नयाँ पुस्तालाई विचार, बहस र नेतृत्व प्रक्रियासँग जोड्ने माध्यम बन्न सक्छन् भन्ने सन्देश पनि यस कार्यक्रमले दिएको छ।
    यदि एमालेले आगामी दिनमा पनि कार्यक्रमको समय व्यवस्थापन, अनावश्यक औपचारिकता कटौती र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै जाने हो भने यसलाई कार्यक्रम सञ्चालनको शैलीमा आएको सामान्य परिवर्तनभन्दा पनि राजनीतिक संस्कृतिमा सुधारको सुरुवातका रूपमा लिन सकिने देखिन्छ।
    ‘विचार, संघर्ष र रूपान्तरण’ पुस्तकको विमोचन आफैँमा एउटा साहित्यिक तथा वैचारिक कार्यक्रम भए पनि उत्कृष्ट विद्यार्थीको हातबाट पुस्तक विमोचन गराउने निर्णयले यसलाई थप अर्थपूर्ण बनाएको छ। पुरानो पुस्ताले लेखेको विचार नयाँ पुस्ताको हातबाट सार्वजनिक हुनु आफैँमा पुस्तान्तरणको प्रतीक बन्न सक्छ। एमालेभित्र साँच्चिकै नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको सुरुवात हुन लागेको हो भने त्यसको निरन्तरता आगामी कार्यक्रमहरूमा देखिन बाँकी छ।

  • २४ श्रावण २०८३, आईतवार ०८:५३ प्रकाशित

  • Nabintech