दाङ,१ भदौ ।
रोल्पाको थबाङ गाउँपालिका-५ मा पहिरोमा परी निधन भएका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उपचार, खोज तथा उद्धार र प्रभावितको पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो ।
नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा, नेपाली कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल लगायत सत्ता साझेदार दलका नेताहरूको सहभागिता रहेको थियो ।
बैठकले पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको र प्रभावित परिवारलाई अविलम्ब राहत उपलब्ध गराउने विषयमा जोड दिइएको छ ।
पहिरोबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने तथा विपद् प्रतिकार्य, खोज तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ । विपद्का समयमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले जोखिमपूर्ण स्थानमा बसोबास नगरी सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ ।
बैठकमा पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा देखिएको विपद्को अवस्थाबारे समेत छलफल भएको थियो । विपद् प्रभावित क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरी राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिइएको छ ।
रोल्पाको थबाङ गाउँपालिका–५ मा अविरल वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । पहिरोमा परी नागरिकको ज्यान गएको तथा केही अझै प्रभावित अवस्थामा रहेकाले पीडित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गरिने भएको हो ।










