बर्दिया ,९ भदौ ।
धानमा मल हाल्ने मुख्य समयमा रासायनिक मलको अभाव भएपछि बर्दियाका किसान महँगो मूल्य तिरेर सीमावर्ती क्षेत्रबाट भारतीय युरिया खरिद गर्न बाध्य भएका छन्। सरकारले अनुदानमा उपलब्ध गराउने मल पर्याप्त मात्रामा र समयमा उपलब्ध गराउन नसक्दा किसानहरू जोखिम मोलेर सीमावर्ती क्षेत्रमा पुगेर मल ल्याउने गरेका छन्।
मधुवन नगरपालिका–४, बाँदरभरियाकी शिवरानी थारू बिहान ६ बजे घरबाट निस्किनुभयो। गुलरिया नगरपालिका–१०, रत्नापुरमा भारतीय युरिया पाइन्छ भन्ने खबर पाएपछि उहाँ मल खोज्दै त्यहाँ पुग्नुभएको थियो। भारतबाट अवैध रूपमा ल्याइएको युरिया बल्लतल्ल पाएपछि उहाँ साँझ करिब ५ बजे घर फर्किनुभयो।
उहाँसँगै मल लिन जानुभएकी सानुमाया थारू पनि करिब ७० किलोमिटर साइकल चलाएर ५० किलोको एक बोरा युरिया ल्याउनुभयो। घर पुगेपछि थकित भएर पिँढीमा बस्नुभएकी सानुमायाले भन्नुभयो, “अझ दुई बोरा मल चाहिन्छ, कसरी ल्याउने हो, सक्दिनँ होला।”
सानुमाया र शिरानी मात्रै होइन, बर्दियाका धेरै किसान अहिले मलको खोजीमा लामो दूरी साइकल चलाएर सीमावर्ती क्षेत्रमा पुग्ने गरेका छन्। भारततर्फ जान नपाउने किसानहरूले भारतीयहरूले नेपालतर्फ ल्याएको युरिया उनीहरूले तोकेको मूल्यमा खरिद गर्ने गरेका छन्।
शिवरानीका अनुसार भारतीय युरिया नेपाल आइपुग्दा एक बोरा १ हजार ८ सयदेखि २ हजार रुपैयाँसम्म पर्ने गरेको छ। “नेपालमै मल भएको भए एक हजार एक सय रुपैयाँसम्ममा पाइन्थ्यो,” उहाँले भन्नुभयो, “उता महँगो पनि पर्छ, त्यति राम्रो गुणस्तरको हुन्छ कि हुँदैन भन्ने पनि थाहा हुँदैन।”
सरकारले सहकारीमार्फत वितरण गर्ने अनुदानको मल लिन पनि किसानले लामो समय लाइन बस्नुपर्ने र आवश्यकताअनुसार मल नपाउने गुनासो गरेका छन्।
बाँदरभरियाका किसान हरिराम थारूले सरकारी मल पाउन निकै कठिन भएको बताउनुभयो। “अब त नेपाली मल लिन लाइन बस्नै मन लाग्दैन,” उहाँले भन्नुभयो, “दिनभरि लाइन बस्यो, प्रतिविघा १०–१५ किलो मल दिन्छन्। त्यति मलले धानखेती कसरी गर्ने?”
अर्का किसानले भने मलको अभावले खेतीको लागतसमेत बढेको गुनासो गर्नुभयो। “खेती गर्ने बेलामा मल खोज्दै बजार र सहकारी धाउनुपर्छ,” उहाँले भन्नुभयो, “मल नपाएपछि अन्तिममा महँगो मूल्यमा भारतीय मल किन्नुपर्ने बाध्यता छ। सरकारको अनुदानको मल किसानका लागि कागजमै सीमित भएको जस्तो लाग्छ।”
किसानहरूका अनुसार धानमा मल हाल्ने समय घर्किँदै जाँदा उत्पादन घट्ने चिन्ता झन् बढेको छ। “समयमा मल नपाएपछि धानको बोट राम्रो हुँदैन,” अर्का किसानले भन्नुभयो, “हामीले वर्षभरि खेतमा मेहनत गर्ने हो, तर मल नपाएर उत्पादन घट्यो भने किसानलाई ठूलो घाटा हुन्छ।”
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गुलरियाका अनुसार धानको सिजनका लागि बर्दियामा १ हजार २४४ मेट्रिक टन युरिया सहकारीमार्फत बिक्री–वितरण गरिएको छ। दोस्रो चरणमा थप १ हजार २०० मेट्रिक टन युरिया बिक्री–वितरण भइरहेको शाखा प्रमुख दिनेश खनालले बताउनुभयो।
तर जिल्लामा माग भने निकै ठूलो छ। खनालका अनुसार धानको सिजनका लागि मात्र बर्दियामा करिब १० हजार मेट्रिक टन युरिया आवश्यक पर्छ। “जिल्लाको मागको तुलनामा हामीले करिब एकचौथाइ मात्र पूरा गर्न सकेका छौँ,” उहाँले भन्नुभयो।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन गुलरिया शाखाका प्रमुख प्रवीणजंग शाहका अनुसार धानका लागि असार महिनामा ३३२ मेट्रिक टन युरिया, ७८३ मेट्रिक टन डीएपी र ३१ मेट्रिक टन पोटास बिक्री गरिएको थियो।
रासायनिक मलको अभावले बर्दियाको धान उत्पादनमा प्रत्यक्ष असर पर्न सक्ने कृषि कार्यालयले जनाएको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीले धानको सिजनमा किसानलाई आवश्यक पर्ने मलको ५० प्रतिशतसमेत आपूर्ति हुन नसकेको बताउनुभयो।
उहाँका अनुसार पर्याप्त मल नपाउँदा किसान बाध्य भएर सीमावर्ती क्षेत्रबाट भारतीय मल ल्याइरहेका छन्। “समयमै आवश्यक मात्रामा मल उपलब्ध नहुँदा उत्पादनमा असर पर्ने निश्चितजस्तै छ,” चौधरीले भन्नुभयो, “किसानले बाध्य भएर भारतीय मल प्रयोग गरिरहेका छन्। यस्तो अवस्थामा सरकारले मागअनुसार मल आपूर्तिको सुनिश्चितता गर्न आवश्यक छ।”
धान खेतीका लागि आवश्यक समयमा पर्याप्त मल उपलब्ध नहुँदा एकातिर किसानले लामो दूरीसम्म धाएर मल खोज्नुपर्ने अवस्था छ भने अर्कोतिर महँगो मूल्यमा गुणस्तरको समेत यकिन नभएको मल खरिद गर्नुपर्ने बाध्यता छ। किसानहरूले भने खेतीको मुख्य सिजनमै दोहोरिने मल अभावको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्।










