सुर्खेत, १० भदौ ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल बिसीलाई जिल्ला अदालत सुर्खेतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा बि.सी.लाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।
प्रहरीले बीसीविरुद्ध ८ साउनमा अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । जाजरकोटको भेरी नगरपालिका–१ घर भई विगत दुई वर्षदेखि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा कार्यरत चन्द्रा सिंह वीरेन्द्रनगर–७, इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।
सिंहलाई उद्धार गरी तत्काल देउती अस्पताल हुँदै प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनालाई अस्वाभाविक मान्दै मृतकका श्रीमान् महेश बस्नेतले बिसीविरुद्ध किटानी जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८, खजुराबाट उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चन्द्रा र नायब सुब्बा बि.सी. बिच सामाजिक सञ्जाल फेसबुकमा भएका कुराकानी तथा केही शंकास्पद च्याट संवादहरू फेला परेको भन्दै प्रहरी नियन्त्रणमा लिएको हो ।









