रासायनिक मलको बढ्दो प्रयोगले बाँकेको माटोको उर्वरा शक्तिमा जोखिम

  • नमस्ते कर्णाली

  • बाँके ,१२ भदौ ।
    बाँके । बाँकेमा रासायनिक मलको प्रयोग बढ्दै जाँदा खेतीयोग्य जमिनको माटोको उर्वरा शक्ति घट्ने जोखिम बढेको छ। माटोमा आवश्यक पोषक तत्वको अवस्था परीक्षण नगरी आवश्यकता भन्दा बढी रासायनिक मल प्रयोग गर्ने प्रवृत्तिले तत्काल उत्पादन बढाए पनि दीर्घकालमा माटोको स्वास्थ्यमा असर पार्न सक्ने कृषि विज्ञहरूले बताएका छन्।
    बाँकेमा करिब ५५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये करिब ३३ हजार ७ सय हेक्टरमा धान खेती हुँदै आएको छ। खेतीको क्षेत्रफल र उत्पादन बढाउनेतर्फ किसानको ध्यान केन्द्रित भए पनि माटोको स्वास्थ्य संरक्षण भने अझै प्राथमिकतामा पर्न सकेको छैन।
    कृषि विज्ञ खिमबहादुर केसीका अनुसार माटोमा नाइट्रोजन, फस्फोरस, पोटासलगायतका पोषक तत्वको अवस्था नबुझी आवश्यकता भन्दा बढी मल प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। उहाँका अनुसार माटो परीक्षणको आधारमा मलको मात्रा निर्धारण गर्न सके उत्पादन बढाउनुका साथै माटोको उर्वरा शक्ति पनि जोगाउन सकिन्छ।


    “माटोमा कुन पोषक तत्व कति आवश्यक छ भन्ने परीक्षण नगरी मल हाल्दा एकातर्फ खर्च बढ्छ भने अर्कोतर्फ माटोमा पोषक तत्वको असन्तुलन हुन सक्छ,” उहाँले भन्नुभयो, “माटो परीक्षणका आधारमा सन्तुलित रूपमा मल प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्नुपर्छ।”
    कृषक रमेशलाल यादवका अनुसार रासायनिक मलको अत्यधिक प्रयोग र प्राङ्गारिक मलको न्यून प्रयोगले माटोको रासायनिक गुण र पीएचमा समेत असन्तुलन ल्याउन सक्छ। उत्पादन बढाउने दबाबमा किसानले तत्काल परिणाम दिने भएकाले रासायनिक मललाई बढी प्राथमिकता दिने गरेको उहाँको भनाइ छ।
    माटो परीक्षण के हो र कसरी गरिन्छ भन्नेबारे पनि धेरै किसान अझै अनभिज्ञ छन्। पुस्तौंदेखि रासायनिक मल प्रयोग गर्दै आएका किसान उत्पादन बढाउन त्यसैमा निर्भर हुँदै गएका छन्। माटोमा आवश्यक पोषक तत्वको मात्रा र अवस्थाबारे जानकारी लिएर मल व्यवस्थापन गर्ने अभ्यास भने न्यून छ।
    खजुराका कृषक रामेश्वर गुप्ताका अनुसार खेतमै पुगेर कृषि प्राविधिकले आवश्यक परामर्श नदिँदा किसानले आफूलाई सहज लागेको मल प्रयोग गर्ने गरेका छन्। “कुन खेतमा कुन मल कति हाल्ने भन्ने जानकारी किसानले व्यवहारमै पाउन सकेका छैनन्,” उहाँले भन्नुभयो।
    जानकी गाउँपालिकाका कृषक विनोद वर्माका अनुसार माटो परीक्षणपछि प्राप्त नतिजा र त्यसका आधारमा मलको मात्रा निर्धारण गर्ने विषयमा किसानलाई थप व्यावहारिक जानकारी आवश्यक छ। परीक्षण मात्रै गर्ने तर त्यसको नतिजाअनुसार मल व्यवस्थापन नगर्ने हो भने माटो परीक्षणको उद्देश्य पूरा नहुने उहाँको भनाइ छ।
    माटो परीक्षण प्रयोगशाला खजुराका अनुसार बाँकेमा अहिलेसम्म करिब एक हजार सात सय किसानले मात्रै माटो परीक्षण गराएका छन्। पछिल्लो समय परीक्षण गराउने किसानको संख्या बढे पनि परीक्षणको नतिजाअनुसार मल व्यवस्थापन गर्ने किसानको संख्या भने न्यून रहेको प्रयोगशालाले जनाएको छ।
    माटो विज्ञहरूका अनुसार कम्तीमा तीन वर्षमा एकपटक माटो परीक्षण गर्नुपर्छ। बाँकेमा हाल नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था सामान्यतः मध्यम तथा माटोको पीएच पनि सामान्य अवस्थामा रहे पनि रासायनिक मलको प्रयोग निरन्तर बढ्दै गए भविष्यमा माटोको उर्वरा शक्ति कमजोर हुने जोखिम रहेको विज्ञहरूको भनाइ छ।
    स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा कृषि प्राविधिक टोलीले किसानको खेतमै पुगेर माटो परीक्षण, पोषक तत्वको अवस्था र सन्तुलित मल प्रयोगबारे नियमित रूपमा जानकारी दिनुपर्ने आवश्यकता देखिएको छ। माटोको अवस्था र बालीको आवश्यकताका आधारमा रासायनिक तथा प्राङ्गारिक मलको सन्तुलित प्रयोगमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ।
    तत्काल उत्पादन बढाउने नाममा माटोको क्षमताभन्दा बढी रासायनिक मल प्रयोग गर्ने प्रवृत्ति रोक्न नसके भविष्यमा उत्पादन लागत बढ्नुका साथै जमिनको उत्पादकत्व घट्ने जोखिमसमेत रहन्छ। त्यसैले अहिले नै माटो परीक्षणलाई नियमित बनाउँदै परीक्षणको नतिजाका आधारमा मल व्यवस्थापन गर्ने र रासायनिक तथा प्राङ्गारिक मलको सन्तुलित प्रयोगतर्फ किसानलाई अभिप्रेरित गर्न आवश्यक देखिएको छ।

  • १२ भाद्र २०८३, शुक्रबार १०:४४ प्रकाशित

  • Nabintech