बाँके ,२१ भदौ ।
लुम्बिनी प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनपछि बाँकेमा १५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ। पुल निर्माणसँगै वर्षायाममा खोला तथा नाला तर्नुपर्ने बाध्यता हट्नुका साथै ग्रामीण क्षेत्रका हजारौँ स्थानीय बासिन्दाको आवागमन सहज भएको छ।
लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख चन्द्रबहादुर शाहका अनुसार जिल्लामा १५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। थप दुई वटा पुल निर्माण सम्पन्न हुने चरणमा छन् भने दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भइसकेको छ।
उहाँका अनुसार बैजनाथ गाउँपालिका–६ स्थित जेठी नाला र कोहलपुरमा पक्की पुल निर्माण भइरहेको छ। स्थानीय आवश्यकताका आधारमा नयाँनयाँ स्थानमा पुल निर्माणलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।
“प्रदेश सरकारले आवश्यकताका आधारमा पुल निर्माणलाई प्राथमिकता दिएको छ। स्थानीयको माग र आवश्यकताका आधारमा नयाँ स्थानमा पनि पुल निर्माणको काम अघि बढाइएको छ,” शाहले भन्नुभयो।
कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलालगायतका स्थानमा पुल निर्माण सम्पन्न भएका छन्।
किरण नालाअन्तर्गत खजुरा–२, सिगाउँ, खजुरा–४, चल्तुवा, सिर्जनाटोल तथा साईगाउँमा पक्की पुल निर्माण गरिएको छ। सिर्जनाटोल र साईगाउँका पुल भने निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ। त्यस्तै, जेठी नालाअन्तर्गत चार वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने एचगाउँमा नयाँ पक्की पुल निर्माण भइरहेको छ।
पुल बनेपछि स्थानीय बासिन्दाले दैनिक आवतजावतमा ठूलो राहत मिलेको बताएका छन्। बैजनाथ–६ का स्थानीय रामबहादुर थारूले पुल नहुँदा वर्षायाममा खोला तर्न निकै समस्या हुने गरेको बताउँदै अहिले सहज भएको बताउनुभयो। “पहिले पानी बढेपछि वारिपारि गर्न डराउनुपर्थ्यो। अहिले पक्की पुल बनेपछि मोटरसाइकल, साइकल र पैदल हिँड्न पनि सजिलो भएको छ,” उहाँले भन्नुभयो।
त्यस्तै खजुरा–२ का स्थानीय सीता विकले पुल निर्माणपछि गाउँका विद्यार्थी, किसान र बिरामीलाई विशेष सुविधा भएको बताउनुभयो। “पुल नहुँदा विद्यालय जाने बालबालिका र बिरामीलाई निकै समस्या हुन्थ्यो। अहिले जुनसुकै समयमा पनि सहजै आवतजावत गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
कोहलपुरका स्थानीय भिमबहादुर बुढाले पुल बनेपछि गाउँको सडक सञ्जालसँगको पहुँचसमेत सहज भएको बताउनुभयो। “पहिले खोला बढेपछि बाटो नै बन्दजस्तो हुन्थ्यो। अहिले पुल बनेपछि बजार, अस्पताल र अन्य सेवा लिन जान सजिलो भएको छ,” उहाँले भन्नुभयो।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारले पुल निर्माणको क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो। “सङ्घीयता कार्यान्वयनपछि लुम्बिनीमा दर्जनौँ पुल निर्माण गरिएको छ। यसबाट सवारीसाधन सञ्चालनमा सहजता भएको छ,” उहाँले भन्नुभयो।
मन्त्री खत्रीले पुलसँगै सडक निर्माणलाई समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। पुल र सडक पूर्वाधार विस्तारले ग्रामीण क्षेत्रलाई बजार तथा सेवा केन्द्रसँग जोड्नुका साथै स्थानीयको दैनिक जीवनयापन सहज बनाउन महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ छ।









