भोटेकोशी बाढीपहिरो पीडितका लागि कोहलपुर बागेश्वरी ई.मि. स्कुलद्वारा २ लाख ७३ हजार सहयोग

  • नमस्ते कर्णाली

  • कोहलपुर, बाँके । भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारका लागि कोहलपुर बागेश्वरी ई.मि. स्कुल, कोहलपुर-३ मदनचोक, बाँकेले २ लाख ७३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम नेशनल प्याब्सन बाँकेका अध्यक्ष चिरञ्जीवी चन्दलाई चेकमार्फत हस्तान्तरण गरेको हो । विद्यालयका अनुसार उक्त सहयोग नेशनल प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

    विद्यालयका संस्थापक विष्णु के.सी. ले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको बताउँदै विद्यालयले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो । विद्यालयले विगतदेखि नै विभिन्न विपद् तथा कठिन परिस्थितिमा सहयोग गर्दै आएको छ । यसपटक पनि भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ । आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यमा विद्यालयको साथ र सहयोग निरन्तर रहनेछ ।”

    विद्यालयले शिक्षा प्रदान गर्ने दायित्वसँगै सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र विपद्का समयमा समुदायसँग ऐक्यबद्धता जनाउँदै विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र तथा सामाजिक अभियन्ताहरूले पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएका छन् । यही अभियानमा ऐक्यबद्धता जनाउँदै कोहलपुर बागेश्वरी ई.मि. स्कुलले पनि आर्थिक सहयोग गरेको हो ।

    विद्यालय परिवारले “प्रकृतिको विपत्तिमा हामी सबै एक हौँ” भन्ने मानवीय भावनासहित पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ ।

  • २ आश्विन २०८३, शुक्रबार १४:२९ प्रकाशित

  • Nabintech