धनगढी, ५ असोज ।
सुदूरपश्चिम प्रदेश सरकारले नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले बताउनुभएको छ।
प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री थापाले लोकतन्त्रलाई बलियो बनाउन नागरिक शिक्षा र नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

सुदूरपश्चिम प्रदेशमा नागरिक सहभागिता अभिवृद्धिका लागि गठन गरिएको बहुसरोकारवाला नागरिक सहभागिता तथा पैरवी मञ्च (Multi Stakeholder Civic Engagement Advocacy Platform) का सदस्यका लागि धनगढीमा आयोजित दुईदिने तालिमको उद्घाटन गर्दै मन्त्री थापाले सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मञ्चले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन सत्रका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री थापाले नागरिकका आवश्यकता, अपेक्षा र सुझावलाई सरकारसम्म पुर्याउन नागरिक सहभागिताका लागि गठन गरिएका यस्ता मञ्च महत्वपूर्ण हुने बताउनुभयो। सामाजिक विकास मन्त्रालय नागरिक सहभागिता अभिवृद्धिका क्षेत्रमा काम गर्ने विभिन्न प्लेटफर्मसँग सहकार्य गर्न तयार रहेको जनाउँदै उहाँले आवश्यक विषयमा मन्त्रालयमा आएर छलफल गर्नसमेत आग्रह गर्नुभयो।
मन्त्री थापाले प्रदेश युवा परिषद्लाई थप प्रभावकारी र बलियो बनाउने योजना प्रदेश सरकारको रहेको जानकारी दिनुभयो। प्रदेश सरकार आगामी बजेट निर्माणको तयारीमा रहेकाले युवा तथा नागरिक सहभागिताका क्षेत्रमा आवश्यक कार्यक्रम समेट्न मञ्चका सदस्यहरूलाई सुझाव पेश गर्नसमेत उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले नागरिक सहभागिता लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको बताउनुभयो। कार्यक्रममा यूएनडीपी नेपालका युवराज आचार्यले बहुसरोकारवाला नागरिक सहभागिता तथा पैरवी मञ्चको उद्देश्य, गठन प्रक्रिया तथा मञ्चले गर्ने कार्यका विषयमा जानकारी गराउनुभएको थियो। उद्घाटन सत्रमा प्रदेश युवा परिषद्का सदस्य प्रतीक्षा ओलीको समेत उपस्थिति रहेको थियो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा नागरिक सहभागिता तथा पैरवी मञ्चसँग सम्बन्धित विभिन्न विषयमा यूएनडीपी नेपालका युवराज आचार्य र इना केरुङ तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरिरहनुभएको छ।

स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोग तथा यूएनडीपी नेपालको साझेदारीमा बास नेपालद्वारा सञ्चालित ‘लोकतान्त्रिक सहभागिता प्रवद्र्धनका लागि नागरिक संलग्नता अभिवृद्धि परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो।
तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट बहुसरोकारवाला नागरिक सहभागिता तथा पैरवी मञ्चका २५ जना सदस्यको सहभागिता रहेको छ। तालिम असोज ५ गतेसम्म सञ्चालन हुनेछ।









